विराटनगर १७ फागुन । कोशी अस्पताल विराटनगरमा स्वास्थ्य बीमा अन्र्तगत उपचारका लागि पुग्ने विरामीको संख्या बढ्दै गएका छन् । चालु आर्थिक वर्ष ०८० श्रावणदेखि हालसम्म स्वास्थ्य बीमामार्फत विभिन्न उपचारका लागि अस्पतालमा ८३ हजार ३ सय ९० जनाले सेवा लिएका छन् ।
गतवर्ष यसै अवधिमा ७३ हजार ५ सय ३ जना विरामीले स्वास्थ्य बीमा सेवा लिएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाका अनुसार अस्पतालमा उपचार गराउने समग्र विरामीमध्ये स्वास्थ्य बीमा मार्फतको संख्या बढ्दो छ । अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा सबैको सहजताका लागि भएपनि अस्पतालको बक्यौता रकम बढ्दै गएको छ । नेपाल स्वास्थ्य बीमा बोर्डले हाल अस्पतालको १८ करोड १८ लाख ६८ हजार रुपैया भुक्तान गर्न बाँकी रहेको छ ।
प्रशासन शाखाका अनुसार अस्पतालले अघिल्लो आर्थिक वर्षमा ९ करोड ६३ लाख २५ हजार र यस आर्थिक वर्षको माघसम्म १८ करोड ३६ लाख ६५ हजार रुपैया गरि कुल २७ करोड ९९ लाख ९० हजार रुपैया बोर्ड समक्ष दाबी गरेको थियो । जसमा बोर्डले यसवर्ष असोज, कार्तिक, पुष र फागुनमा गरि ९ करोड ८१ लाख २१ हजार रुपैया भुक्तान गरेको छ ।
गत आर्थिक वर्ष ०७९÷०८० मा अस्पतालमा १ लाख २९ हजार ८ सय ९३ जना विरामीले स्वास्थ्य बीमा सेवा लिएको अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालले जानकारी दिनुभयो । गतवर्ष माघमा ९ हजार ६ सय ४६ जना र यसवर्ष माघमा ११ हजार ४९ जनाले स्वास्थ्य बीमा सेवा लिएको उहाँको भनाई छ ।