उर्लाबारी १६ फागुन । मोरङको उर्लाबारीमा रहेका विद्यालयहरुमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाइएको छ । नेपाल स्काउटको आयोजनामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेको हो । पहिलो चरणमा राधिका, अरनिको र सुनपकुवा माविमा कार्यक्रम सम्पन्न गरिएको छ । निजी विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी छ ।
नेपाल प्रहरीका तर्फबाट लागूऔषध दुव्र्यसनलगायतका विभिन्न अपराध र ट्राफिक प्रहरीका तर्फबाट ट्राफिक नियमका बारेमा आवश्यक प्रशिक्षण दिने गरिएको छ । प्रशिक्षणको सहजीकरण इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास, सइ चूडामणि पौडेल तथा ट्राफिक प्रहरी पोस्ट उर्लाबारीका असइ किशोर निरौलाले गरिरहेका छन् । पछिल्लो समय किशोर किशोरीहरु लागूऔषधको दुव्र्यसनमा फस्ने क्रम बढेको छ । युवा पुस्ता दुव्र्यसनमा फस्नु चिन्ताको विषय भएको सरोकारवालाले बताए । प्
रशिक्षणका क्रममा लागूऔषध र यसले समाजमा पार्ने असर, लागूऔषधका प्रकार, यसको ओसारपसार, कारोबार एवं सेवन सम्बन्धि कानुनी व्यवस्थालगायतका बारेमा विद्यार्थीलाई जानकारी दिने र सचेत गराउने गरिएको सइ पौडेलको भनाइ छ । त्यस्तै, विद्यार्थीलाई ट्राफिक नियमसँग सम्बन्धित प्रशिक्षण पनि दिने गरिएको छ ।
पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले प्रशिक्षण दिने गरिएको ट्राफिक प्रहरीका असइ निरौलाले बताए । उनका अनुसार सवारीसाधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, ट्राफिक नियमको पालना तथा उल्लंघन र नियमको उल्लंघन गर्दा हुने कानुनी कारबाहीलगायतका विषयमा विद्यार्थीलाई जानकारी गराउने गरिएको छ ।
ट्राफिक प्रशिक्षणका माध्यमबाट विद्यार्थीहरुमा जनचेतना फैलाउने उदेश्य रहेको असइ निरौलाले बताए । उनका अनुसार विद्यार्थीमा ट्राफिकसँग सम्बन्धित विभिन्न जानकारीमूलक सन्देशहरु पनि प्रवाह गर्ने काम भइरहेको छ ।