झापामा हात्तिपाईले निवारणका लागि सरोकारवालाहरु केन्द्रीत हुने

विराटनगर १५ फागुन । कोशी प्रदेशका १३ जिल्लाबाट निवारण भएको हात्तिपाईले झापामा निवारण हुन बाँकी छ । झापाबाट हात्तिपाईले निवारणका लागि उपेक्षित उष्णप्रदेशीय रोग निवारणका क्षेत्रमा कार्यरत संस्थाहरु सक्रिय रुपमा लाग्ने भएका छन् ।

कोशी प्रदेश, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा उष्णप्रदेशीय रोग निवारण (एनटिडी) मा कार्य गर्ने संघ सस्थाहरुसँग समन्वय बैठक निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतको अध्यक्षतामा सोमबार विराटनगरमा बसेको छ । बैठकले किटजन्य रोग बढदै गएको र समयमा समन्वय हुन नसकेको विषय उठान गरिएको थियो । किट्जन्य रोगको निरन्तर खोज गर्ने, रुग्णता नक्साङ्कन तथा अपाङ्गता पहिचान गर्ने र प्रदेश स्तरीय एनटिडी निर्देशन समिति केन्द्रियतहसँग समन्वय गरि तय गर्ने, हात्तिपाईले रोग निवारणको लागि झापा जिल्लामा सबैको समन्वयमा सक्रिय रुपमा कार्य गर्ने निर्णय भएको निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय धनकुटाले एनटिडी को कोशी प्रदेशको अवस्थाको बारेमा प्रष्ट पार्दै सस्थाहरुले गर्दै गरेको क्रियाकलापको बैठकमा प्रस्तुति गरिएको थियो ।