मोरङका १० स्थानीय तहमा शुरु भयो दादुरा–रुवेलाको खोप अभियान

विराटनगर १४ फागुन । मोरङका १० वटा स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गरिएको छ ।

अभियानको शुरुवात आईतबार जहदा गाउँपालिका ५ को दुर्गा माविबाट गरिएको थियो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, जहदा गाउँपालिका उपप्रमुख हन्ना सोरेनले संयुक्त रुपमा अभियानको शुरुवात गर्नु भएको थियो । फागुन १३ देखि २८ गते सम्म पहिलो चरणमा विराटनगर, मिक्लाजुङ्ग, लेटाङ्ग, केरावारी, वेलवारी, सुन्दरहरैचा, जहदा, कटहरी, वुढीगंगा, ग्रामथानमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

फागुन २९ गते देखि शुरु हुने दोश्रो दोस्रो चरणमा ७ वटा स्थानीय तहहरु ध्नपालथान, रंगेली, सुनवर्षी, रतुवामाइर्, उर्लावारी, कानेपोखरी, र पथरीशनिश्चरेमा अभियान सञ्चालन हुने बताईएको छ । मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका ९ महिना देखि १५ वर्ष सम्मका २ लाख ८१ हजार २६३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार ९ महिना देखि ५९ महिना भित्रमा ८० हजार ४५५ र ५ वर्ष देखि १५ वर्ष सम्मका २ लाख ८०८ गरि २ लाख ८१ हजार २६३ जनालाई खोप लगाईने भएको हो ।

मोरङ भरि १ हजार ५८८ खोप केन्द्र, ३ हजार १७० स्वास्थ्यकर्मी र ४ हजार ७६४ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।