दलालले सीमा नाकासम्म अभिभावकको प्रयोग गर्नु मानव बेचविखन नियन्त्रणको मुख्य समस्या

विराटनगर १३ फागुन । मानव बेचविखनमा दलालहरुले नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या भएको पाईएको छ । दलालले सीमानाकासम्म अभिभावक प्रयोग गरेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरले जनाएको हो । आज पत्रकार सम्मेलन गर्दै माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन नियन्त्रणको काम गर्ने क्रममा दलालहरुले सीमा सम्म अभिभावकको प्रयोग गर्ने गरेको पाईएको उहाँले बताउनुभयो ।

फ्रि अ गल्र्स, नेदरल्याणको सहयोगमा सञ्चालित ‘अवरोध,उद्धार र न्याय परियोजना’ अन्र्तगत मार्च २०२३ देखि फेब्रुअरी २०२४ सम्मको प्रतिवेदन सार्वजनिक गर्दै संयोजक पोखरेलले सिमामा एकै खाले काम गर्ने संघ सस्थाहरु धैरै हुदा काममा डुब्लिकेसन हुने गरेको बताउनुभयो । उहाँका अनुसार टेलिफोनमा सूचना दिई तुरुन्तै रोकी दिनु भन्ने तर रोकी सके पछि सम्पर्कमा नआउने भएकाले काम गर्न समस्या हुने गरेको छ । सामाजिक सञ्जाललाई माध्यम बनाई दलाल प्रत्यक्ष नहुने र बालिकाहरु एक्लै सीमा पार गर्ने गरेको उहाँले बताउनुभयो । भारतबाट तेस्रो राष्ट्र जान सहज भएका कारण नेपालका नाकाहरु बढी प्रयोग भएको संयोजक पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ रोजगारको अवसर र आर्थिक प्रलोभनका कारण भारत तर्फ बढी आकर्षण भएको पाएका छौं ।’

एक वर्षको अवधिमा मोरङबाट ५४ जना उद्धार गरिएको माईती नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । विराटनगरबाट ११, सुन्दरहरैचाबाट ८, बेलबारी, रंगेली र रतुवामाईबाट ६–६, सुनवर्षी र धनपालथानबाट ३–३, उर्लाबारी, ग्रामथान, कानेपोखरी र कटहरीबाट २–२, लेटाङ र पथरीशनिश्चरे र बुढीगंगाबाट १–१ जनाको उद्धार गरिएको संयोजक पोखरेलले बताउनुभयो । उहाँका अनुसार मानव वेचविखनका नयाँ नयाँ तरिकाहरु अपनाउने गरिएको पाईएको छ ।

पछिल्लो १४ वर्षमा माईती नेपाल विराटनगरले रानी सिमाबाट १ हजार ३२८ जना महिला तथा बालबालिकाहरुलाई मानव वेचविखनको सम्भावित जोखिमबाट बचाएको जनाईएको छ । माईती नेपालको तथ्याङ्क अनुसार सवैभन्दा बढी सन २०२३ मा १५९ लाई बेचविखन हुनबाट बचाएको हो । जसमा १८ वर्ष भन्दा तलका ४८ जना थिए । १४ वर्षको अवधिमा २७ जनालाई भारतबाट उद्धार गरिएको जनाईएको छ । सन् २०१० देखि सन् २०२३ सम्ममा ५९० जना महिला तथा बालबालिकाहरु बेपत्ता भएका छन् । जसमा ८७ जना फेला परेको माईती नेपाल विराटनगरका संयोजक पोखरेलले बताउनुभयो ।

एक वर्षको अवधिमा इलाका प्रशासन कार्यालय उर्लाबारीमा रहेको सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जाने ३ हजार ७७ महिला सहित ७ हजार ३६० जनालाई परामर्श सेवा दिईएको माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जोगवनी सिमा नाकाबाट भारत तर्फ जाने ३ हजार ९३ महिलाहरुलाई जानकारी दिईएको छ ।