विराटनगर १३ फागुन । विराटनगरमा आज सम्पन्न अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको स्कुलले जितेको छ । वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिको स्कुलले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो ।
१ सय ८ रनको लक्ष्य पछ्याएकोे अरनिकोले १७ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । अरनिको जितमा म्यान अफ द फाइनल अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १–१ विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए ।
अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिए । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको सम्युक्त आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।