विराट गोल्डकप चैत १५ देखि हुने

विराटनगर ९ फागुन । विराटनगरमा ८ औं संस्करणको विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि शुरु हुँदैछ ।

विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने आयोजकले बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध गराए अनुसार प्रतियोगिता हुने बताउँदै, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले भन्नुभयोे, ‘प्रतियोगिताको समय तालिका पाएसँगै तयारीका काम थालिसकेका छौं ।

मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको छ । यस पटक पनि रात्रिकालीन प्रतियोगिता हुनेछ ।’ सबै सरोकारवाल पक्षसँग समन्वयको काम भइरहेको छ । विराटनगरको शान भएकाले पनि यहाँका सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताउँदै, अध्यक्ष शाहीले भने, ‘विगतको जस्तो कसैलाई संयोजक नराख्ने र ट्रष्ट आफैंले यस पटक प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ राशि प्राप्त गर्ने छन् । गतवर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार राशि पुरस्कार प्राप्त गरेका थिए । गतवर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेको हुँदा यस वर्ष पनि आर्थिक समस्या झेल्न नपरोस् भन्दै पुरस्कार राशिमा कटौती गर्न बाध्य हुनुपरेको अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुनेछ । जसमा ३ विभागीय नेपाल पुलिस, त्रिभूवन आर्मी र सशस्त्र प्रहरी बल, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका ‘ए’ डिभिजन क्लबहरुसँग सहभागिताका लागि समन्वय भइरहेको छ ।

वि.स.२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२÷०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ । गतवर्ष विराटनगर फुटबल क्लब र भारत केरलाको लुका सकर क्लबबीच भएको फाइनल खेलमा विराटनगरले उपाधि जितेको थियो ।