विराटनगर ९ फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । १ सय ५० रनको लक्ष्य पछ्याएको आदर्शले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १० रन बनायो ।
दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मून स्कुललाई २९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । १ सय २३ रनको विजयी लक्ष्य पाएको न्यू मुनले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाई ९३ रनमा सिमित भएको थियो ।