स्थानिय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदद्धारा राजीनामा

विराटनगर, ११ वैशाख । स्थानिय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदले राजीनामा दिएका छन् । आइतबार प्रदेश १ को प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीसमक्ष सांसदहरू काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कागते इलाम क्षेत्रनम्बर १ (ख)बाट निर्वाचित सांसद हुनुहुन्छ भने बुढाथोकी झापा क्षेत्रनम्बर १ (ख)बाट निर्वाचित सांसद हुनुहुन्छ । अघिल्लो निर्वाचनमा दुवैजना प्रत्यक्ष तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशसभामा दिएको राजीनामा आइतबार नै स्वीकृत भइसकेको प्रदेस १ को प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । राजीनामा दिएका दुवै सांसद एमालेका हुनुहुन्छ ।

सांसद काजीमान कागतेले इलामको सूर्योदय नगरपालिकाको मेयरमा उमेदवारी दिने र गोपालचन्द्र बुढाथोकीले झापाको मेचिनगर नगरपालिकाको मेयरमा उमेदवारी दिन सांसद पदबाट राजीनामा दिनुभएको हो । दुई जना सांसदले राजीनामा दिएसँगै प्रदेश १ को प्रदेशसभामा ९० जना सांसदमात्रै कायम भएका छन् । ९३ सदस्यीय प्रदेशसभामा यसअघि नेकपा माओवादी केन्द्रले १ जना सांसदलाई कार्वाही गरी निश्काशन गरेको थियो ।