सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजारभन्दा बढी व्यक्ति पीडित

विराटनगर ७ फागुन । इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा सो तथ्याङ्क समेटिएको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२३ मा मानव अधिकार उल्लङ्घनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भए । सन् २०२२ मा यस्ता घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ । इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा मानव अधिकार उल्लङ्घन सूचकाङ्क सार्वजनिक गरेको छ ।

सूचकाङ्क अनुसार बागमती प्रदेश सबैभन्दा माथि र सूदूरपश्चिम प्रदेश तल छ । ‘मानव अधिकार उल्लङ्घन सूचक एक समग्र सूचकाङ्क हो, जसले मानव अधिकार उल्लङ्घनका सन्दर्भमा नेपालका सात ओटै प्रदेशको सापेक्षिक स्थिति पहिचान गर्न मद्दत गर्दछ’,इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले भन्नुभयो ।