एभरेष्ट कार्निभल २.० : श्रेयांश, आरोही र युनिशालाई सिङ्गिङ आइडलको उपाधि

विराटनगर ७ फागुन । एभरेष्ट स्कुल विराटनगर ५ ले आयोजना गरेको एभरेष्ट कार्निभल २.० आज सम्पन्न भएको छ । फागुन ५ देखि सुरु भएको कार्निभल आज विविध कार्यक्रमका साथ सम्पन्न भएको हो ।

एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । विभिन्न ३५ वटा स्टलमा विद्यार्थीहरुले आ–आफ्ना समूहगत परियोजनाहरु प्रदर्शनीमा राखेका थिए भने, करिब ५ हजार भन्दा बढीको संख्यामा उपस्थित अभिभावकहरु बालबालिकाको प्रतिभा अवलोकन गर्दै मनोरञ्जन लिइरहेका थिए ।

एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बालबालिकालाई संस्कारयुक्त बनाउनुपर्ने बताउनुभएको छ । आज कार्निभल २.० लाई सम्वोधन गर्दै उहाँले अभिभावकहरुसँग आग्रह गर्दै भन्नुभयो,‘हाम्रा बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्छ, त्यसैले मेरो अभिभावकसँग आग्रह छ, हामी पनि मेहनत गर्छाैं तपाईहरुको पनि सहयोग रहोस् ।’ विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै उहाँले अभिभावकहरुलाई सोहि अनुसारको वातावरण तयार गरिदिन आग्रह गर्नुभयो । संस्कार नभए नैतिकता, नैतिकता नभए बौद्धिकताको अर्थ नरहने भन्दै उहाँले एभरेष्टले शिक्षासँगै सीप र संस्कारलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रमा महत्वूर्ण योगदान गरेको भन्दै युग सापेक्ष सबैले रुपान्तरित हुँदै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, सह प्राचार्यद्वय टीएन भण्डारी, नारायण कडरियालगायतले बोल्नुभएको थियो ।

श्रेयांश, आरोही र युनिशालाई एभरेष्ट सिङ्गिङ आइडलको उपाधि
एभरेष्ट कार्निभल २.० को समापन समारोहमा सिङ्गिङ आइडलको ग्राण्ड फिनाले सम्पन्न भएको छ । संगितकार तथा गायक रामा मण्डल र गायीका गंगा गौतम निर्णायक रहेको ग्राण्ड फिनालेमा तीन समूहबाट तीन जना विजेता भएका छन् ।

कक्षा १ देखि ५ सम्मको समूहबाट कक्षा ५ कंचनजंघाका श्रेयांश खड्काले उपाधि जित्नुभयो भने सोहि कक्षाका निपुन काफ्ले दित्तिय र कक्षा ३ गौरीशंकरका आर्यमन दुलाल तेस्रो हुनुभयो । कक्षा ६ देखि ८ को समूहबाट कक्षा ६ माछापुच्छ्रे की आरोही तिम्सिना प्रथम, कक्षा ८ धौलागिरीकि कृषा पोखरेल दित्तिय र कक्षा ६ सगरमाथाका शिवम् पगैया तृृतिय हुनुभयो । कक्षा ९ देखि १२ सम्मको समूहबाट कक्षा ९ अन्नपूर्णकी युनिशा न्यौपानेले उपाधि जित्नुभएको छ । कक्षा १२ स्मिथकी आर्या गुभाजु दित्तिय हुँदा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य तृतिय हुनुभएको छ ।

तीनवटै समूहका प्रथम, द्धितिय र तृतियले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेका छन् ।