विराटनगर ४ फागुन । प्रदेश सरकार पक्षको मुद्दाको प्रतिरक्षा गर्न अदालतमा हुने लिखित जवाफ तथ्य र सत्यका आधारमा हुनुपर्ने सहभागीहरुले बताएका छन् ।
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज आयोजित लिखित जवाफ सम्वन्धी एक दिने अन्तरक्रियामा सहभागीहरुले प्रदेश सरकार अन्तर्गतका कार्यालय हरेक कामको जवाफदेहीता हुनु पर्ने उहाँहरुले सुझाव दिएका छन् ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशकुमार राजभण्डारी कार्यक्रमको उद्घाटन गर्दै इमान्दारीका साथ कार्य सम्पादन गरि न्यायपालिकाप्रति अहिले आएका टिप्पणी निस्तेज गरी जनविश्वास जगाउने कार्यतर्फ लाग्न आग्रह गर्नुभयो ।
मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले प्रदेश सरकारको पक्षमा परेहका मुद्दाहरुको प्रतिरक्षाका लागि पेश गरिने लिखित जवाफमा आवश्यक सम्पूर्ण प्रमाण संलग्न गरेमा सरकारले आफ्नो कार्यक्रम निर्वाध रुपमा सञ्चालन गर्न सक्ने बताउनु भयो ।
महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका नायव महान्यायाधिक्ता सञ्जीवराज रेग्मी र सहायक न्यायाधिवक्ता रविन सापकोटाले प्रदेश सरकारको कानूनी प्रतिरक्षा गर्ने सबै निकायको समन्वय कायम गरि लिखत जवाफ पेश गरी समस्या समाधान गर्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा प्रदेश सरकार अन्र्तगतका विभिन्न मन्त्रालयका कानुन अधिकृत, अर्धन्यायिक निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।