इनरुवा २९ माघ । प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ ।
नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको एसपी रेग्मीको भनाइ छ । स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो ।
त्यसलगत्तै प्रहरीले स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति फरार बनेका छन् । रेग्मीका अनुसार बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ । सुनसरी प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिने भएको छ ।