विराटनगर २८ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीलाई थप सेवा सुविधा दिने गरी ल्याएको अध्यादेशको नेकपा एमाले कोशीले आपत्ती जनाएको छ । एमालेले अध्यादेश तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ ।
एमाले मोरङ पार्टी कार्यालयमा आज प्रेस चौतारीसँगको छलफल कार्यक्रममा अध्यक्ष घनस्याम खतिवडाले प्रदेश सभालाई वेवास्ता गर्दै ल्याईएको अध्यादेशको घोरनिन्दा गर्नुभएको छ । उहाँले भन्नुभयो,‘ प्रदेशसभालाई माइनस गरि ल्याएको अध्यादेश तत्काल फिर्ता होस्, पार्टी कमिटीबाट फिर्ताका लागि दवाव दिन चाहन्छु ।’
सत्तारुढ गठबन्धन दलका नेताहरूलाई गाडी सुविधा दिन मिल्ने व्यवस्थासहित मुख्यमन्त्री केदार कार्कीको स्वार्थमा प्रदेश सरकारले गत माघ ६ गते ल्याएको अध्यादेश फिर्ता लिन एमाले कोशी प्रदेश अध्यक्ष खतिवडाले आग्रह गर्नुभयो । प्रदेशसभामा रहेका पूर्व मुख्यमन्त्री तथा सत्ता पक्षकै दलका नेताहरूलाई गाडी तथा सेवा सुविधा थप गर्ने गरी ऐन संशोधन गरेको प्रति एमालेको आपत्ती रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले राजनीतिक बेइमानी गरेको उहाँको भनाई छ । खतिवडाले भन्नुभयो,‘ मुख्यमन्त्री कार्कीको राजनीतिक बेइमानीले पराकाष्टा नाघ्यो ।’ कानून विगार्दै सत्तापक्षलाई लाभ हुने गरि ल्याईएको अध्यादेश तत्काल फिर्ता लिन आग्रह गर्दै उहाँले अस्पताल विकास समितिलाई अस्थिर बनाउन खोजिएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिका अध्यक्ष हुने व्यवस्थालाई हटाउँदै विकास समितिमा कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोज्नु गतल भएको अध्यक्ष खतिवडाको भनाई छ ।
यसअघिको ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्तापक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई सेवा सुविधा दिने विषय उल्लेख थियो । तर, प्रदेश सरकारले गत माघ ६ गते जारी गरेको अध्यादेशले सरकारमा रहेका संसदीय दलका नेतालाई पनि सेवा सुविधा दिने व्यवस्था थपिएको छ ।
प्रदेश सरकारले ल्याएको अध्यादेशको एमाले संसदीय दल कोशी प्रदेशले पत्रकार सम्मेलन मार्फत विरोध जनाएको थियो । संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्र मार्फत फिर्ता लिन आग्रह गर्नुभएको छ । तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले अध्यादेश मार्फत जिससका प्रमुखको अधिकार खोसिएकोमा विज्ञप्ती मार्फत आपत्ती जनाउनु भएको थियो । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एकिकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पनि सुविधा थप्ने विषयप्रति आपत्ती जनाउनु भएको छ ।