कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जित्यो

विराटनगर २८ माघ । झापाले कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले मोरङको बेलबारीमा आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि जितेको हो ।

प्रतियोगितामा सहभागी कोशी प्रदेशका ११ जिल्लामध्ये उपाधि रक्षा गर्न झापा सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण, २ वटा रजत र ७ कास्य पदकसहित मोरङ दोस्रो र ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुनसरी तेस्रो भएको छ । कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बूका अनुसार प्रतियोगिता २ दिनसम्म चलेको थियो । त्यसमा ११ जिल्लाका १ सय ६३ जना खेलाडीले सहभागिता जनाएको जानकारी उनले दिए । विजेता खेलाडीलाई कोशीका प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पदक वितरण गर्नुभएको थियो ।

प्रदेश सांसद लिम्बूले प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सबै पक्षको साथ र सहयोगमा मात्रै तेक्वान्दो खेलको विकास हुने उल्लेख गर्नुभयो । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्कीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी उत्पादन गर्न र खेल क्षेत्रको विकासमा सरकारको ध्यान जान आवश्यक देखिएको उहाँले बताउनुभयो ।