विराटनगर २७ माघ । चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना ब्यक्तित्वलाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानको १९ औ वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता, र बाल प्रतिभामा पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ प्राज्ञ गणेश रसिक, संस्कृतिविद् ताराबहादुर बुढाथोकी, समाज सेवातर्फ कल्पना भट्ट, पत्रकारिता क्षेत्रमा शशी बजगाई, युवातर्फ ललित राजवंशी, र बालप्रतिभातर्फ आयुष केसीलाई पुरस्कारसहित सम्मान गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङले स्रष्टा सम्मान आयोजना गरेकोमा प्रष्तिष्ठानलाई धन्यवाद दिदै आगामीदिनमा अझ सकारात्मक सोचका साथ काम गर्न सुझाव दिए। प्रदेश प्रमुख खापुंगले पुरस्कृत ब्यक्तित्वले आगामीदिनमा आफ्नो क्षेत्रमा अझ सक्रियताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले पुरस्कारले मानवजीवनलाई सार्थक बनाउने प्रेरणा दिने र मार्गदर्शन गराउनेमा विश्वास लिएको बताइन् ।
निरन्तर रुपमा विगत १९ वर्षदेखि मुलुकभरबाट उत्कृष्ठ कार्य गरेका ब्यक्तिलाई चयन गरि पुरस्कृत गर्नु चुनौतिपूर्ण भएको बताउँदै उनले स्रष्टा सम्मानलाई सबैको न्यानो साथ कायम रहेको बताउनुभयो । विभिन्न संस्थाहरुको आ आफ्नै उद्धेश्य हुने बताउँदै अध्यक्ष सुवेदीले प्रतिष्ठानले एकअर्कामा सम्मान, आदर र सहयोग भावनालाई जागृत गराउने उल्लेख गर्नुभयो । हरिभक्त सिटौलाद्धारा स्थापित धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतनातर्फको पुरस्कार १ लाख १ हजार रुपैया काठमाडौंका प्राडा दयाराम श्रेष्ठलाई प्रदान गरिएको हो। कार्यक्रममा सिटौलाले आगामी वर्ष पुरस्कार राशीमा थप ५० हजार बृद्धि गरि पुरस्कृत ब्यक्तिले १ लाख ५१ हजार रुपैया प्राप्त गर्ने जानकारी दिनुभयो ।
त्यसैगरि, भूपेन्द्रशोभा रिजाल ललितकला चेतना पुरस्कार गणेश रसिक, बालकिशन नर्वदा मुन्दडा सनानत मानवीय धर्म संस्कृति चेतना पुरस्कार संखुवासभाका संस्कृतिविद् ताराबहादुर बुढाथोकी, ओमप्रकाश गोयल समाज सेवा चेतना पुरस्कार धनगढीकी कल्पना भट्ट, नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार सुनसरीका शशी बजगाई, डा. नरेन्द्र योगमाया भवानीशंकर चापागाइ युवा पुरस्कार मोरंगका क्रिकेटर ललित राजवंशी, र केदारनाथ मञ्जु सत्याल बालप्रतिभा पुरस्कार भक्तपुरका आयुष केसीलाई प्रदान गरिएको थियो ।
उनीहरुलाई ५० हजार रुपैया पुरस्कारसहित सम्मान गरिएको थियो । २०६१ सालमा स्थापित प्रतिष्ठानले प्रत्येक वर्ष स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दैै आएको छ ।