जसपा नेता यादवद्धारा पार्टी परित्यागको घोषणा

विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरि यादवले जसपा त्याग गरेको बताउनुभयो । विराटनगर महानगरपालिकामा जसपाले जित्ने अवस्था हुँदाहुँदै नेताहरुको व्यक्तिगत चाहनाका आधारमा गठबन्धन गरि उपमेयर लिएकोमा उहाँले असन्तुष्टि रहेको बताउनुभयो । २०७४ सालको निर्वाचनमा यादव विराटनगरको मेयरमा पराजित हुनुभएको थियो ।

पछिल्लो ५ वर्ष संगठनलाई मजबुद बनाएर मेयर जित्ने अवस्थामा पार्टीलाई पुर्याएपनि गठबन्धनका नाममा उपमेयरमा सहमति जनाउने निर्णय ठिक नभएको उहाँले बताउनुभयो । विराटनगरमा गठबन्धनको औचित्य नभएको यादवको भनाई छ । जसपा महानगर समितिले उपमेयरमा आफ्नो नाम सिफारिस गरिएको प्रति उनले असन्तुष्टी जनाउनुभयो । यादवले भन्नुभयोे,‘ मेयरमा प्रतिष्पर्धा गरेको मैले कसरी उपमेयर उम्मेदवारी दिने ।’ पार्टी परित्यागसँगै आफु स्वतन्त्र भएको बताउनुभयो ।

भोली दिउँसो १ ः ४५ वजे मुख्यनिर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवारी दिने यादवको भनाई छ । उहाँले भन्नुभयोे, ‘ तत्काल कुनै पार्टी प्रवेशको चाहना छैन ।’ नेता यादवले ०७४ को स्थानीय तह निर्वाचनमा १४ हजार ९५८ मत ल्याउनु भएको थियो ।