वी डिभिजन क्रिकेटमा वीसीसीलाई उपाधि

विराटनगर २४ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (वीसीसी) च्याम्पियन बनेको छ ।

वीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो । टस जितेर ब्याटिङ गरेको वीसीसीले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । वीसीसीका अनिल यादवले ४१ रन बनाउँदा धिरज कामतले २३रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए । ग्रामथानका आर्यन बास्कोटाले ३ विकेट लिँदा निर्वेश लुइटेलले २ विकेट लिए । १ सय ४० रनको विजयी लक्ष पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।

ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटाले नटआउट २० रन निर्वेश लुइटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए । वीसीसीका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ विकेट तथा कृतिक कामत, आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिए । प्रतियोगिताको उत्कृष्ट ब्याटर वीसीसीका राहुल चौधरी ,उत्कुष्ट बलर विसिसिका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि वीसीसीका कृतिक कामत घोषित भए ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताउनुभयो । विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडि नन्दकिशोर राठी, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभएको थियो ।