मोरङका स्थानीय तहमा एमालेबाट क कस्ले पाए टिकट

विराटनगर, १० वैशाख । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ ।

श्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र देवी गौतमको नाममा छलफल भईरहेको एक एमाले नेताले बताए । रंगेलीको मेयरमा दिलिप बगडिया र उपमेयरमा भूमा पराजुली निरौला, धनपालथान गाउँपालिकाको अध्यक्षमा मुसहरु मण्डल र उपाध्यक्षको नाम टुङ्गो लाग्न बाँकी रहेको बताईएको छ । जहदाका उपाध्यक्षमा अनिता सोरेनको निश्चित हुँदा अध्यक्षको टुङ्गो लाग्न बाँकी छ ।

कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमासीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीमा मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनले उम्मेदवारी दिने भएका छन् । केही पालिकामा केन्द्रीय स्तरका नेताको पनि दावीका कारण निश्चित हुन बाँकी रहेको बताईएको छ ।

आईतबार र सोमबार उम्मेदवारी दर्ता हुने भएकाले नेताहरुले पालिकाका प्रमुख र उपप्रमुखको नाम आइतबार विहान सम्म टुङ्ग्याउने तयारी गरेका छन् । प्रदेश कमिटीका नेताहरु काठमाण्डौं गएकाले भोली विहान सम्म बाँकी रहेका पालिकाहरुको टुङ्गो लाग्ने बताईएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै, एउटामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुखमा विजयी भएको थियो ।