लुघवित्त मुलुक लागि आवश्यक : डा. कोइराला

विराटनगर २३ माघ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ । विराटनगरमा आज आयोजित कोशी प्रदेशमा मुख्य कार्यालय रहेका लघुवित्त संस्थाहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेता कोइरालाले आजको समयको माग र आवश्यकता अनुसारको ऋणिलाई शिप तथा बजारसम्मको सहज पहुँच पुर्याउनु पर्ने बताउनुभयो ।

नेता डा. कोइरालाले लघुवित्तले विना धितो ऋण प्रदान गर्नु पर्ने चर्चा गर्दै ऋणको सदुपयोगका लागि आवश्यक अनुगमन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले लुघवित्त मुलुकको लागि आवश्यक भएको बताउँदै यसबाट दुर्गम क्षेत्रका विपन्न वर्ग महिला एवं कृषकले स्वरोजगार हुन सहयोग प्राप्त गरेको बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले लुघवित्तले मुलुकमा ठूलो रोजगारी उपलव्ध गराएको बताउनु भयो । प्रदेशका पूर्वमन्त्री गयानन्द मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार, ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी धामी, जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, रिता चौधरी लगायतले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा लघुवित्तलाई ऋण उपलव्ध गराउनु पर्ने सुझाव दिनुभयो ।

नेपालमा रहेका लुघवित्तमा ५९ लाख सदस्य रहनुका साथै २३ लाखले विभिन्न कार्यका लागि ऋण लिएका छन् । लघुवित्तले चार खर्च ३५ अर्व ऋण प्रवाह गर्नुका साथै एक खर्व बचत रहेको जानकारी दिईएको थियो ।