ग्रामथानको संरक्षण गर्न समिति गठन : विराटनगर अध्यक्षमा तिलक राजवंशी

विराटनगर २० माघ । परापूर्व कालदेखि कुल देउताको रुपमा पुजा गर्दै आएको ग्रामथानहरु विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि आदीवासी समुदायहरु संगठित हुन थालेका छन् ।

आज विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा विरनारायण थान्दार, सचिवमा रामसून्दर राजवंशी, सहसचिवमा पन्नालाल राजवंशी र कोषाध्यक्षमा राजकुमार चौधरीलाई चयन गरेको छ । यस्तै समिति सदस्यहरुमा पवन राजवंशी, रामप्रसाद राजवंशी, रामचरण चौधरी, हरेन्द्र साह, गयाराम माझि थारु, जगदिश राजवंशी चयन हुनुभएको छ ।

नव गठित समितिले विद्यालय, संघ–संस्था, व्यक्तिलगायतका विभिन्न क्षेत्रहरुबाट ग्रामथान अतिक्रमण भएको भन्दै त्यस्ता अतिक्रमित ग्रामथानहरुको संरक्षण गर्न पहलकदमी लिने अध्यक्ष तिलक राजवंशीले बताउनुभयो । उहाँका अनुसार सुनसरी र मोरङका ग्रामथानहरुको संरक्षणका लागि क्रमशः संरक्षण समितिहरु बन्दै गइरहेका छन् ।