राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित : कांग्रेस

विराटनगर १९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको जनाएको छ । आज बसेको संसदीय दलको बैठकले कोशी प्रकरणलाई गम्भीररुपमा लिएको निष्कर्श निकालेको हो ।

बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट १९ वटा साझा उम्मेदवार पठाएकोमा कोशीमा एउटा सिट गुमाएको बताउनुभयो । बैठकले यसलाई अनपेक्षित ठहर गरेको उहाँको भनाइ छ । राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित रहेको संसदीय दलको ठहर रहेको उहाँले बताउनुभयो । बैठकले यसलाई गम्भीररुपमा लिएको लेखकको भनाई छ ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीमा गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुनु भएको थियो ।