विराटनगर १७ माघ । कोशी प्रदेशका पूर्वसभामुख बाबुराम गौतम पछिल्लो समय मौन छन् । सार्वजनिक रुपमा असन्तुष्टी व्यक्त नगरे पनि गफगाफका क्रममा नेताहरुले आफुसँग गरेको प्रतिबद्धता स्मरण गर्नुपर्ने बताउने गरेका छन् ।
०७९ पुस २८ गते कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका गौतम ७ महिनामै निवर्तमान हुने पुगे । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा ओखलढुङ्गाबाट निर्वाचित भएको डेढ महिनामा कोशी प्रदेशको सभामुख भएका गौतमका लागि सभामुख पद सपना जस्तै भयो । ५ वर्षका लागि निर्वाचित भएका गौतमले चाहना नहुदै ७ महिनामै सभामुख पदबाट राजीनामा दिनुपर्ने अबस्था बन्यो ।
कोशी प्रदेशसभामा सत्तागठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकिकृत नेकपा समाजवादी र जसपामा सभामुख सहित ४७ सांसद थिए । असार २१ मा नेपाली कांग्रेसका उद्धव थापा सभामुख गौतमको हस्ताक्षर लिएर मुख्यमन्त्री बनेका थिए । संविधान र अन्य प्रचलित कानूनले भने सभामुखलाई कुनै पनि दलको मामूली कार्यकर्ता बनेर सरकार गठनको जोडघटाउमा लाग्ने अधिकार नदिएपछि थापा नेतृत्वको सरकारले बैधता पाउन सकेन । पुन : दोश्रो पटक मुख्यमन्त्रीमा दावी गरेका थापाका लागि साउन १६ मा गौतमले पार्टी नेताहरुको चर्को दवाव र विभिन्न आश्वासनका कारण पदबाट राजीनामा दिएर सरकार गठनका लागि साथ दिन तयार भए । सरकार गठनका लागि बहुमत पुर्याउन गौतमले राजीनामा दिएपनि दोश्रो पटकको सरकारले पनि बैधता पाउन सकेन । उनको राजीनामाको कुनै अर्थ रहन सकेन ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकारमा गौतम एक महिने आर्थिक मामिला तथा योजना मन्त्री बनेपनि पछिल्लो ५ महिनादेखि उनी फुर्सदिला छन् । सभामुखबाट राजीनामा दिने उनको व्यक्तिगत इच्छा थिएन । परिवेश र बाध्यताले मैले त्यसो गर्नुपर्ने स्थिति आएको उनले बताउने गरेका छन् ।
पूर्वसभामुख गौतमले सार्वजनिक रुपमा आफ्नो असन्तुष्टी व्यक्त गरेका छैनन । तर उनी गफगाफका क्रममा राजीनामा दिनुपूर्व आफुसँग नेताहरुले गरेको प्रतिबद्धतालाई स्मरण गर्नु पर्ने बताउने गरेका छन् । सभामुखबाट राजीनामा गराउनुपूर्व नेताहरुले ठुला ठुला आश्वासन दिएको उनले बताउने गरेका छन् । कोशी प्रदेशमा सरकार विस्तारको विषयलाई उनले गंभिर चासो दिएका छन् । तर उनी आफुलाई मन्त्री बनाइदिनु पर्यो, पहिले गरेको प्रतिबद्धता स्मरण गर्नुपर्यो भनेर नेताहरुलाई भनेका छैनन । नत उनी दौडधुपमा नै लागेका छन् । उनी अहिले मौन छन् । प्रतिबद्धता अनुसारको काम नभएमात्रै सार्वजनिक रुपमा बोल्ने बताउने गरेको उनी निकट नेताको भनाई छ । उनले भने,‘ माननीय ज्यू अहिले चुपचाप हुनुहुन्छ, सरकार विस्तारलाई नजिकबाट नियालीरहनु भएको छ । प्रतिबद्धता अनुसारको काम नभए सार्वजनिक रुपमा व्यक्त गर्ने सोचमा हुनुहुन्छ ।’ पूर्व सभामुख गौतमले प्रदेश सरकारले हालै ल्याएको अध्यादेशमा पूर्वसभामुख विषयमा कतै उल्लेख नगरेकोमा पनि असन्तुष्ट रहेको श्रोतको भनाई छ ।
पूर्व सभामुख गौतम निकट नेताहरु ५ वर्षका लागि निर्वाचित व्यक्तिलाई विचमै राजीनामा गर्न लगाउनेहरुले प्रतिबद्धता अनुसार काम गर्नुपर्ने बताउँदै आएका छन् । गौतमलाई राजीनामा गर्न लगाउने नेताहरुले उनलाई मुख्यमन्त्री बनाउने सम्मको आश्वासन दिएको बताईन्छ ।