विराटनगर १८ माघ । जिल्ला समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजन मेहताले कोशी प्रदेश सरकार अन्तर्गतका जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष हुने व्यवस्था हटाउने निर्णय अविलम्व खारेज हुनु पर्ने माग गर्नु भएको छ ।
कोशी प्रदेश सरकारले यही माघ ६ गतेको मन्त्रिपरिषदको वैठकद्वारा जनस्वास्थ्य ऐन २०७७ को दफा (३१) को उपदफा (क)ले जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सम्वन्धित जिल्ला समन्वय समितिका प्रमुख रहने व्यवस्था अध्यादेशमार्फत हटाएकोमा आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि उहाँले आपत्ति जनाउँदै अध्यादेश फिर्ता लिनु पर्ने बताउनु भएको छ । अध्यक्ष मेहताले समन्वय समितिका प्रमुख अस्पतालको अध्यक्ष भएको अवस्थामा नागरिकले गुणस्तरीय तथा सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकेको विचार राख्नु भयो ।
महासंघ नेपालका कोशी अध्यक्ष कमल थुलुङ्ग राईले नेपालको संविधान बमोजिम स्थापना भएको समन्वय समितिले पाएको अधिकार खोस्ने अध्यादेश खारेजी गरि पूर्ववत अवस्था कायम गर्न माग गर्दै अन्यथा आगामी एक हप्ताभित्र कठोर कदम चाल्ने बताउनु भयो ।
संविधानको मर्म, जनभाव विपरित जारी उक्त्त अध्यादेश खारेजीको लागि प्रदेश प्रमुख तथा सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं संसदीय दलका नेता र सम्पूर्ण सरोकारवाला पक्षहरुसँग उहाँले अनुरोध गर्नु भएको छ ।