विराटनगर १६ माघ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस र ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय आयोजनामा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफल कार्यक्रमको अध्यक्षता गर्नु भएका निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशको तीनै तहको सरकारको आपसी सहयोग र सहकार्यले मात्रै उपेक्षित उष्णप्रदेशीय रोगको निवारणमा सहयोग पुग्ने बताउनु भएको थियो। बस्नेतले रोगको नियन्त्रण र निवारणको लागि समाजको हरेक तह र तप्काको सहयोग आवश्यक हुने भएकोले सहयोग र सहकार्यले रोगलाई नियन्त्रण गर्न ठुलो सघाउ पुग्ने समेत बताउनु भयो ।
छलफल कार्यक्रममा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले उष्णप्रदेशीय रोग नियन्त्रण र रोगबाट पिडित व्यक्ति तथा परिवारको पुनःस्थापना तथा आवश्यक कानूनी सहायता गर्न मन्त्रालय तयार रहेको प्रतिवध्ता व्यक्त गर्नु भएको थियो । त्यस्तै , कोशी प्रदेश योजना आयोगको तथ्यांक अधिकृत अम्बिका रेग्मीले प्रदेश सरकारले आयोगले दोस्रो आवधिक योजनामा उष्णप्रदेशीय रोगको नियन्त्रण , निवारण र रोगबाट प्रभावितहरुको माग सम्बोधन गर्ने गरि आयोगले काम गर्ने बताउनु भएको थियो ।
जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले संचालन गर्नु भएको छलफल कार्यक्रममा विराटनगर स्थित हाम्रो अस्पतालका चिकित्सक डा. शंकर अधिकारीले केन्द्र , प्रदेश र स्थानीय तहले बजेटको दोहोरो अंकको प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च नगरे सम्म स्वास्थ्य क्षेत्रमा समस्या देखि रहने बताउनु भएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीले नेपालमा विश्व उपेक्षित उष्णप्रदेशीय रोगको हालको अवस्थाको बारेमा प्रस्तुतीकरण दिंदै विश्वमा पहिचान भएको २१ वटा उष्णप्रदेशीय रोग मध्य १० वटा रोग नेपालमा पहिचान भएको बताउनु भएको थियो । नेपालमा पहिचान भएको १० वटा रोग मध्य खस्रे रोग नेपाल बाट निवारण भईसकेको छ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस हरेक बर्ष जनवरी ३० मा मनाउने गरिएको छ ।