चोरी नियन्त्रण गर्न कडा कानुन आवश्यक छ : डीआईजी खापुङ

विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गर्नुभयो । डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको बताउनुभयो ।

कुनै अपराध परिस्थितिजन्य हुने भएपनि चोरी चैं वास्तविक अपराध रहेको उहाँको भनाइ छ । आफ्नो कार्यकालमा प्रहरी ऐनले दिएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

नेपाल घुम्न आउने भारतीय पर्यटक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, लागूऔषधलगायतका सीमापार अपराध नियन्त्रण, अपराध अनुसन्धान र नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरीको नियमित कामकारबाहीमा आफू गम्भीर रहेको खापुङले बताउनुभयो ।