विराटनगर ११ माघ । एमालेमा लामो समयदेखि क्रियाशिल सुनसरी इटहरीकी रुक्मिणी कोइराला विहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचित एक मात्र उम्मेदवार हुनुहुन्छ ।
राष्ट्रिय सभाका रिक्त १९ सिटमा एमालेले १९ जनानै उम्मेदवार उठाएको थियो । कोशीमा राप्रपासँग गठबन्धन गरेपछि एमालेबाट अन्य तर्फ उम्मेदवारी दिएका पर्शुराम अधिकारीलाई व्याक गरिएको थियो । ७ वटै प्रदेशमा उम्मेदवार दिएका एमालेका १७ जना पराजित भएका छन् । कोइराला एमालेबाट निर्वाचित एकमात्र उम्मेदवार बन्नु भएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनको कुरा पार्टीमा चलेपनि कोइरालालाई उम्मेवार होइन्छ भन्ने लागेको थिएन । उहाँले भन्नुभयो,‘ करेसावारीमा काम गरिरहेको समयमा स्थानीय पार्टी नेतृत्वबाट नागरिकता लिएर आउनु भन्नुभयो । किन रहेछ भनेर लिएर गएँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन रहेछ ।’ राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएपछि चुवा जित्छु की जस्तो लागेको थियो । आज परिणाम मैले सोचे जस्तै आयो उहाँले भन्नुभयो ।
करिव ४७ वर्षदेखि एमालेमा क्रियाशिल भएपनि कुनैपनि लाभको पदमा कोइराला पुग्नु भएको थिएन । ६ वर्षका लागि राष्ट्रियसभा सदस्यमा निर्वाचित उहाँले राष्ट्रिय सभामा सशक्त रुपमा आफ्नो उपस्थिति जनाउने बताउनुभयो । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रतिनिधिहरुको मतबाट निर्वाचित भएकाले प्रदेश र स्थानीय तहको अधिकारलाई राष्ट्रियसभामा कुरा उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य, अनेमसंघ केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्जको भूमिकामा हुनुहुन्छ ।
यसअघि २०७८ मा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशको अल्पसंख्यकक कोटामा सोलुखुम्वुका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनु भएको थियो । २ वर्ष अघि पनि एमालेका सवै उम्मेदवार पराजित हुँदा शेर्पा मात्र विजयी हुनु भएको थियो ।
कोइरालाको पक्षमा सत्ता गठबन्धनका ३ प्रदेश सांसद र १७ स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरेका छन् । कोइरालाले कुल ५०८६ मतभार प्राप्त गर्नुभयो । उहाँलाई ४९ प्रदेशसभा सदस्य १३१ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए । माओवादीकी चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गर्नुभएको थियो । उहाँलाई ४४ प्रदेशसभा सदस्य र १४० स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले–राप्रपा गठबन्धनमा प्रदेशसभा तर्फ ४६ र स्थानीय तह तर्फ ११४ र सत्ता गठबन्धनमा प्रदेशसभा तर्फ ४७ र स्थानीय तहतर्फ १५७ मतदाता रहेका थिए ।