मोरङबाट हात्तिपाईले निवारण, समुदायस्तरमा संक्रमण देखिएन

विराटनगर ११ माघ । हात्तिपाईले रोग मोरङबाट निवारण भएको छ । मोरङमा हालै सम्पन्न सर्भेले जनस्वास्थ्यका रुपमा हात्तिपाईले रोग नरहेको पाईएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय मोरङले आज विहान पत्रकार सम्मेलन गरि यसवर्षदेखि मोरङमा हात्तिपाईलेको औषधि खुवाउनु नपर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मोरङमा हात्तिपाईलेकोे समुदायस्तरमा संक्रमण नदेखिएकाले हात्तिपाईलेको आम औषधि सेवन चलाउनु नपर्ने जानकारी गराएको कार्यालय प्रमुख डा. मेहताले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । मोरङका ६ वटा वडालाई तीनवटा ब्लकमा राखेर सर्भे गरिएको थियो । ब्लक ‘ए’ मा सुन्दरहरैचा–५ र केराबारी–६, ब्लक ‘वी’ मा पथरीशनिश्चरे ६ र रतुवामाई ७, ब्लक ‘सी’मा विराटनगर १२ र सुनबर्षी ९ नं. वडालाई छनौट गरिएको छ । ब्लक ‘ए’ मा मिक्लाजुङ, लेटाङ, केराबारी, सुन्दरहरैचा र बुढीगंगा रहेका छन् । ब्लक ‘वी’ कटहरी, ग्रामथान, बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी र रतुवामाई, ब्लक ‘सी’मा सुनबर्षी, रंगेली, विराटनगर, धनपालथान र जहदा गाउँपालिका रहेका थिए ।

६ वटा वडाका करिव १५० घरसंख्याका आधारमा (टोल वा गाउँको सीमाना छुट्टीने गरी) सो स्थानलाई विभाजन गरि एउटा छान्ने विधिबाट नमूना लिईएको थियो । छनौट गरिएको संख्यामा २ वा सो भन्दा कम हात्तिपाईले देखिएमा सर्भेलाई पास भएको मानिने र ३ वा सो भन्दा बढीमा हात्तिपाईले देखिएमा सर्भेलाई असफल भएको मानिने बताईएको थियो । हात्तिपाईले निवारणका लागि मोरङमा सन् २००१ मा गरिएको बेसलाईन सर्भेमा आम औषधी सेवन अभियानको कभरेज १३ दशमलव ६ रहेको थियो । सन् २०१२ देखि नियमित रुपमा हरेक बर्ष औषधी खुवाईदै आईएको थियो । गत वर्ष मोरङमा औषधीको कभरेज ८० दशलमव ८२ रहेको थियोे ।

हात्तिपाईले रोग एक प्रकारको मसिनो धागो आकारको परजिवीबाट संक्रमण भएपछि लाग्दछ । क्युलेक्स जातको सक्रंमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाइ टोकेर यी परजिवीहरु शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.मेहताले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत संसारभरबाटै हात्तिपाईले रोगलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ । मोरङमा विगत ११ वर्षदेखि निरन्तर हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईदै आईएको थियो ।

कोशी प्रदेशमा झापा जिल्लामा मात्रै हात्तिपाईले निवारण हुन बाँकी छ । मोरङ सहित अन्य १३ जिल्लामा हात्तीपाईले रोग निवारण भएको छ ।