निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका सिडियोलाई आयोगको निर्देशन

विराटनगर १० माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अबधिमा कोशी प्रदेशमा निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको विषयमा अनुगमन गरी त्यसबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

मौन अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएकोमा त्यसविपरित विराटनगरमा राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको जानकारी आएको भन्दै आयोगले त्यसबारे प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदान कार्यक्रम अघि निर्वाचन आयोगले ०८० माघ ९ गतेदेखि ४८ घण्टाका लागि तोकेको मौन अवधिको समयमा कोशी प्रदेशमा राजनीतिक दल र तिनका प्रतिनिधिसहित उम्मेद्वारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेका थिए ।

मौन अवधिको समयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विराटनगरमा चियापान कार्यक्रम गर्नु भएको छ । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर आज विहान विराटनगरमा चियापान गर्नुभएको थियो । कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी हुनु भएको छ । चियापानमा काँग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएको पाइएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा नेकपा एमाले र राप्रपा गठबन्धनले उम्मेदवार र मतदाताहरु बोलाएर भेला गरेको पाईएको छ । भेलामा नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरु भेलामा सहभागी भएका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका उद्धब पौडेल र महिलामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी चम्पा कार्की र एमालेकी रुक्मिणी कोइराला प्रतिष्पर्धामा छन् ।