विराटनगर १० माघ । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो ।
आज क्रिकेट र फुटबलका खेलहरु भएका छन् । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी भएको छ । पहिलो खेलमा अर्किडले नेशलन कलेजलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई १ सय ८ रन जोडेको थियो ।
टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई १ सय ४९ रनको विशाल योगफल बनाएको थियो । त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् । पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा बुढीगंगाको जेभियर्स स्कुलले शिक्षा सदनलाई वाक ओभरका अभधारमा पारजित गरेको छ । तेस्रो खेलमा विराटनगरका अरनिको कलेजले नेता चोकको पशुपति स्कूललाई ३–१ को गोल अन्तरले पराजित गरेको छ ।
चौथो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजेसेफ स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सहभागिता जनाउने आयोजकले बताएको छ ।