एमालेबाट विराटनगरको उपमेयरका आकांक्षी को कस्ता ?

विराटनगर, ९ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको प्रदेश १ कमिटीले विराटगर महानगर पालिकाको उपमेयरका लागि महिला नेतृको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । जसमा विमला दाहाल घिमिरे, शिल्पा निरला कार्की र अञ्जु उपाध्याय (शिवा) रहेका छन् । पार्टीको केन्द्रीय कमिटीले शुक्रबार सम्ममा उहाँहरु मध्ये एक जनाको नाममा टुङ्गो लगाउने छ । उहाँहरु मध्ये एमालेबाट जसले टिकट पाएपनि विराटनगरमा गठबन्धनको साझा उम्मेद्वारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

निर्वाचनमा विजय हासिल गर्न सम्बन्धित पार्टीको धरातलीय अवस्थासँगै उम्मेद्वारको आफ्नै सामाजिक र राजनीतिक पृष्ठभूमिको पनि अहम भूमिका हुने गर्दछ । त्यसैले विराटनगर महानगरपालिकाको उपमेयरका दाबेदार एमाले महिला नेतृहरुको के छ त विगतको राजनीतिक र सामाजिक पृष्ठभूमि ?

विमला दाहाल घिमिरे – हाल एमालेको प्रदेश १ कमिटीको प्रदेश सदस्यको जिम्मेवारीमा रहनु भएकी घिमिरे विद्यार्थी जीवनबाटै राजनीतिमा जोडिनु भएको हो । उहाँका दाजुहरुनै तत्कालिन माले निकट विद्यार्थी सङ्ठन अनेरास्ववियुको गतिविधिमा सक्रिय रहनु भएकाले उहाँले पनि कक्षा ७ अध्ययनरत रहँदा २०३६ सालमै अनेरास्ववियुको स्कुल प्रारम्भिक कमिटीमा सङ्गठित भएर राजनीतिक यात्रा प्रारम्भ गर्नु भएको हो । त्यसपछि स्कुले छात्रा जिवनमै उहाँले अनेरास्ववियु झापाको दमक इलाका कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गर्नु भयो ।

एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्न आएपछि अझ उहाँको राजनीतिक सक्रियता अझ बढ्यो । त्यही बेला उहाँले महेन्द्र मोरङ क्याम्पस प्रारम्भिक कमिटी हुँदै अनेरास्ववियु मोरङ जिल्ला कमिटीको महिला विभाग प्रमुख सम्मको जिम्मेवारी पुरा गर्नुभयो । २०४७ सालमा अनेरास्ववियुका तत्कालिन केन्द्रीय सदस्य तथा हाल एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेसँग वैबाहिक जिवनमा बाधिएपछि उहाँले एमाले निकट अनेमसङ्घको विराटनगर नगर कमिटीको सचिव हुँदै अनेमसङ्घको जिल्ला उपाध्यक्ष सम्मको जिम्मेवारी पुरा गर्नु भएको छ ।

पार्टीगत जिम्मेवारी तर्फ एमाले मोरङमा तीन कार्यकाल जिल्ला कमिटीको सदस्य र कार्यालय सचिवको जिम्मेवारी पुरा गर्नुभएको छ । राजनीतिसँगै उहाँसँग सामाजिक क्षेत्रको पनि अुनभव छ । विराट आवासीय माध्यमिक विद्यालयको सस्थापक प्रिन्सिपल समेत रहनु भएकी विमलाले सोही जिम्मेवारीमा रहेर १६ वर्ष काम गर्नुभयो भने निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याव्सनको केन्द्रीय सदस्य, महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी संस्था स्वातिको उपाध्यक्ष, अन्तरपार्टी महिला सञ्जाल मोरङको उपाध्यक्ष, विभिन्न गैरसरकारी संस्थाहरुको प्रशिक्षकको रुपमा समेत काम गरेको अनुभव उहाँसँग छ । आफुसँग लामो राजनीति र सामाजिक क्षेत्रको जिम्मेवारीको अनुभव भएकाले पार्टीले दिएको जिम्मेवारीलाई सही तरिकाले पुरा गर्न सक्ने उहाँको दाबी छ ।

घर परिवारमा समेत राजनीतिक वातावरण भएकाले पनि पारिवारिक जिम्मेवारी पुरा गर्दै राजनीतिमा सक्रिय हुन आफूलाई सहज भएको उहाँको अनुभव छ ।

अञ्जु उपाध्याय (शिवा)– विराटनगरमै बाल्यकाल विताउनु भएकी अञ्जु उपाध्याय (शिवा) पनि २०३६ साल देखि नै बाम राजनीतिमा जोडिनु भएको हो । विराटनगरको राधाकृष्ण माविमा पढ्दा त्यहाँको वातावरण काँग्रेसमय भएपनि बैबाहिक जीवन पछि भने उहाँ बामपन्थि राजनीतिमा विस्तारै सक्रिय हुनु भएको बताउनु हुन्छ । उहाँका ससुरा महेश उपाध्याय नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकाल देखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रहनु भएको र तत्कालिन पुष्पलाल समुहको केन्द्रीय सदस्य नै रहनु भएकाले पनि उहाँलाई बाम राजनीतिमा जोडिएर अगाडि बढ्न सजिलो भएको हो ।

राजनीतिका छलफलका लागि तत्कालिन माक्र्सबादी समुहका नेताहरु मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमल कोइराला लगायतका नेताहरु घरैमा आइरहने भएकाले उहाँको पनि राजनीतिमा प्रति रुची बढ्दै गयो । राजनीति प्रतिको रुची देखेरससुराले तिमी पनि राजनीतिमा लाग्नु पर्छ भन्दै प्रेरणा दिने गरेको उहाँ बतानुहुन्छ ।

२०४६ सालको जनअन्दोलन पछि बहुदलीय व्यवस्थापनको स्थापनासँगै साङ्गठानिक रुपमा उहाँको राजनीति सक्रियता बढ्यो । २०४८ सालमा तत्कालिन माले र माक्र्सबादी एकता पछि गठन भएको अनेमसङ्घ नगर कमिटीको सदस्यमा सङ्गठित भएर उहाँले राजनीतिक कर्म सुरु गर्नु भएको हो । त्यो बेला साधना अधिकारी, ओमकुमारी अधिकारी, लगायतका महिला नेतृहरु अनेमसंघमा सक्रिय हुनुहुन्थ्यो । अनेमसङ्घ पनि उहाँले युवा संघको जिल्ला हुँदै केन्द्रीय सदस्य सम्मको जिम्मेवारीमा रहेर काम गर्नुभयो । राजनीति बाहेक व्यापार व्यवसायको क्षेत्रमा समेत सक्रिय उपाध्याय मुलत ः ह्याण्डीक्राफ्टको व्यापारमा रुची राख्नु हुन्छ । नेपाली कच्चा पदार्थमा आधारित हस्ताकलाका सामाग्रीहरु सङ्कलन गरी विभिन्न मुलुकहरुमा निर्यात गर्ने कार्यमा उहाँ सक्रिय हुनुहुन्छ ।

महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने धारण राख्ने उपाध्याय थुप्रै महिलाहरुलाई आफूले तालिम दिएर स्वरोजगार बनाएको बताउनु हुन्छ । व्यापार व्यवसायसँगै उहाँले उद्योग सङगठन मोरङको समेत विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको छ । उद्योग सङ्ठन मोरङको महिला समितिको दुई कार्यकाल सभापति भइसक्नु भएको उपाध्याय समाज परिवर्तका लागि मुल वस्तु राजनीति भएकाले आफू राजनीतिमै सक्रिय हुन चाहेको उपाध्याय बताउनु हुन्छ ।

शिल्पा निराला कार्की– विद्यार्थी जीवनमा राजनीति प्रति खासै रुची नराखेपनि पछिल्लो समय विराटनगरको राजनीतिक वृतमा सक्रिय राजनीतिक कार्यकर्ताको परिचय बनाउन सफल व्यक्ति हो, शिल्पा निराला कार्की । उहाँ अहिले एमाले विराटनगर महानगर कमिटीको उपाध्यक्षको जिम्मेवारीमा क्रियाशिल हुनुहुन्छ । ‘विद्यार्थी हुँदा त मलाई खासै राजनीतिमा रुची थिएन तर विवाह पछि भने राजनीति प्रति मेरो रुची बढ्दै गयो’ उहाँले भन्नुभयो ।

एमालेको राजनीतिमा सक्रिय विराटनगरका युवा व्यवसायी गिरेन्द्र कार्कीसँग २०५७ सालमा वैवाहिक जिवनमा बाधिएसँगै उहाँको राजनीतिक सक्रियता सुरु भएको हो । विराटनगर भित्र उद्यमी महिलाको समेत परिचय बनाउन सफल निराला कार्की विगत १० वर्ष देखि एमाले निकट अनेमसङ्घको राजनीतिमा क्रियाशिल हुनुहुन्छ । अनेमसङ्घको नगर कमिटी हुँदै उहाँ अहिले सोही सङ्गठनको जिल्ला कमिटी सदस्य तथा एमाले विराटनगर महानगर कमिटीको जिल्ला सदस्यको जिम्मेवारीमा सक्रिय हुनुहुन्छ ।

राजनीतिका अलवा उहाँ विभिन्न व्यवसायिक सङ्गठनहरुमा समेत क्रियासिल हुनुहुन्छ । हाल उहाँ नेपाल घरेलु तथा साना उद्योग सङ्गठन प्रदेश १ को महिला विभागको संयोजक हो । बुटिक व्यवसायमा बढी रुची राख्ने निराला कार्कीले फेसन डिजाइनमा समेत डिप्लोमा सम्मको अध्ययन पुरा गर्नु भएको छ । नेपाली कच्चा पदार्थमा आधारित विभिन्न बस्तुहरु युरोप र अमेरिकी मुलुकहरुमा निर्यात गर्ने काममा उहाँ सक्रिय रहँदै आउनु भएको छ ।

अँग्रेजी विषयमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नु भएकी निराला कार्की राजनीतिमा सक्रिय केही व्यक्तिहरुको क्रियाकलापले गर्दा नयाँ पुस्तामा राजनीति प्रतिको वितृष्ण बढदै गएको बताउनु हुन्छ । त्यसका लागि आजको नयाँ पुस्ताले इमान्दारी पूर्वक काम गरेर नयाँ पुस्तालाई समेत राजनीतिमा ल्याउनु पर्ने उहाँको भनाइ छ ।