बैंक र उद्योग सञ्चालक एउटै घरानाको भएसम्म आर्थिक समस्या : कोइराला

विराटनगर ९ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताउनु भएको छ । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गर्नुभयोे ।

बैंकहरूले ५ प्रतिशत ब्याजदरमा दिने कृषि ऋण वास्तविक कृषकले नपाउने गरेको नेता कोइरालाको भनाइ थियो । “सरकारले ५ प्रतिशतमा कृषि ऋण दिने व्यवस्था गरेको छ । सामान्य नागरिक १५–२० लाख कृषि ऋण माग्दै गयो भने बैंकले बस्नुहोस् पनि भन्दैन” कोइरालाले भन्नुभयोे, “तर १ अर्ब कृषि ऋण माग्दै ठूला उद्योगी गए भने बैंकले सोफामा बसाउँछ, चिया कफी खुवाउँछ अनि ऋण पनि सहजै दिन्छ । तपाईंहरू आफैं विचार गर्नुहोस् त्यो पैसा कृषिमा लगानी हुन्छ कि कहाँ हुन्छ ? अनि कसरी देश बन्छ ? बैंकर्स र उद्योगी एउटै घरानाका व्यक्ति भएसम्म समस्या रहिरन्छ ।”

नेता कोइरालाले कुनै पनि प्रजातान्त्रिक मुलुकमा बैंकर्स र उद्योगी एउटै घरानाको नहुने गरेको जिकिर गर्नुभयोे । अहिले देश अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको नेता कोइरालाले बताउनुभयो । उहाँले मुलुकमा भ्रष्टाचार, दण्डहीनता र कुशासन बढ्दै गएको बताए । मुलुकको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक र धार्मिक कुनै पनि क्षेत्र राम्रोसँग नचलेको उहाँको भनाइ थियो ।

त्यस्तै कोइरालाले राज्य सञ्चालनमा बस्ने व्यक्तिहरूमा केन्द्रिकृत मानसिकताका कारण संघीयता अप्ठ्यारोमा परेको बताउनुभयो । “सम्पूर्ण नेपाली जनताको विद्रोहका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर संघीयताको मर्म र भावनाविपरीत केन्द्रितृत शासन व्यवस्था चलाउँदा संघीयतामाथि प्रहार भइरहेको छ । संघीयता खराब हो भन्ने परिरहेको छ,” उहाँले भन्नुभयोे, “हामीले संविधानले दिएको अधिकारलाई तलसम्म ल्याउन सक्यौं भने अहिले संघीयता खारेज गर्नुपर्छ भन्नेहरूले नै संघीयता राम्रो व्यवस्था हो भन्न थाल्नेछन् ।” उहाँले भ्रष्टाचार दण्डहीनताले सीमा नाघेको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधिस कल्याण श्रेष्ठलाई पिताजी कृष्णप्रसाद स्मृति स्म्मान प्रदान गरिएको थियो । नेता डा. कोइराला र आयोजक संस्थाका अध्यक्ष प्रा. कविराज न्यौपानेले पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । न्याय क्षेत्रमा रहेको समयमा प्रजातान्त्रिक मूल्य, मान्यता र विधिको शासन स्थापित गर्न महत्वपूर्ण योगदान गरेकाले श्रेष्ठलाई सम्मान गरेको परिषद्ले जनाएको छ ।