धिमाल जातिको अध्यक्षमा एमालेका अम्बरबहादुर निर्वाचित

उर्लाबारी, ९ माघ । पुर्वी तराइको अल्पसंख्यक आदिवासी जाति धिमालहरुको जातीय संस्थामा नेकपा एमालेका उम्मेद्वार अम्बरबहादुर धिमाल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिको ७ औं राष्ट्रिय महाधिवेशनको माघ ८ गते भएको निर्वाचनबाट अध्यक्ष पदमा अम्बरबहादुर निर्वाचित भएका हुन् । उनी नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । अम्बरबहादुरले १५० मत ल्याई कांग्रेसका आधिकारिक उम्मेद्वार कृष्णबहादुरलाई पराजित गरेका हुन् । पराजित धिमालले १३० मत ल्याएका थिए । दलीय रुपमै विभक्त भएर उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए ।

अन्य पदमा भने मिश्रित परिणाम आएको छ । सह – अध्यक्षमा केदार धिमाल, चार वटा खुल्ला उपाध्यक्ष पदमा गिरीराज धिमाल, व्रतबहादुर धिमाल, शान्ति धिमाल, रूकमिणी धिमाल, महिला उपाध्यक्ष पदमा गंगामाया धिमाल, महासचिव मात्रिका धिमाल, सचिवमा अजितकुमार धिमाल, महिला सचिवमा रोमान्सी धिमाल र कोषाध्यक्षमा – रत्नबहादुर धिमाल निर्वाचित भएका छन् ।

पुर्वी मोरङ र पश्चिमी झापामा परापूर्व कालदेखि बसोबास गर्दै आएका धिमाल जातिको ऐतिहासिकताको सम्मानस्वरुप उनीहरुलाई विगतमा एमाले नेतृत्व रहेका चारवटा पालिकामा प्रथम नागरिक घोषणा गरिएको थियो । प्रथम नागरिक घोषणा गरिएका धिमाललाई स्थानीय सरकारको अवसर र सम्मानमा पहिलो प्राथामिकता हुने मेयर दमक नगरपालिकाका पुर्व मेयर रोमनाथ ओलीले जनाउनुभयो ।

पहिलो स्थानीय तहबाट निर्वाचित झापाको दमक नगरपालिकासंगै मोरङको बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा धिमाल जातिलाई प्रथम नागरिक घोषणा गर्रिएको छ ।