शैलजा आचार्य हृदय रोग केन्द्रको सेवा आजदेखि शुरु

विराटनगर ८ माघ । कोशी प्रदेश सरकारले विराटनगर– १० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रस्तावित एक सय शैय्याको हुने उक्त केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिनु भयो ।

केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीहरुले मुटु रोगका साथै अन्य साधारण विरामीको उपचार सेवा प्रदान गर्ने छन् । केन्द्रमा आगामी छ महिना भित्र आवश्यक पर्ने अन्तराष्ट्रिय मापदण्डका परीक्षणको सामाग्री उपलव्ध हुने उहाँले बताउनु भयो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज यहाँ संयुक्त रुपमा केन्द्रको उद्घाटन गर्नु भयो ।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले केन्द्रको स्थापनावाट विराटनगर स्वास्थ्य केन्द्रको रुपमा विकसित भएको बताउनु भयो । उहाँले केन्द्रमा कोशी, मधेश प्रदेशका साथैसीमावर्ती भारतीय क्षेत्रका जनतालाई उपचारमा सहज हुनुका साथै यस क्षेत्रको आर्थिक चलायनमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सात लाख उच्चरक्तचापबाट पीडित जनतालाई बचाउन हृदय रोग केन्द्र स्थापना गरेको जानकारी दिनु भयो । उहाँले प्रदेशमा दुई लाख मुटुको विरामी रहेको चर्चा गर्दै उपचार मात्र होइन यो रोग कसरी लाग्छ भन्ने अनुसन्धानका लागि समेत बजेट छुट्याएको बताउनु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले मानवीय विकासका लागि चिकित्सक,इन्जिनियर, पशु र स्वास्थ्य विज्ञमा निःशुल्क अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनु भयो ।