कोशी प्रदेश : राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

विराटनगर ७ माघ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र र आवस्यक निर्वाचन सामग्रीहरु आईसकेको छ ।

निर्वाचनको लागि करिव तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिनुभयो । राष्ट्रिय सदस्य निर्वाचनका लागि निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँगको अन्तरक्रिया, उम्मेदवारी दर्ता पछि उम्मेदवारका प्रतिनिधि र राजनीतिकदलसँग निर्वाचन आचारसंहिताबारे कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताउनुभयो । माघ २ गतेदेखि निर्वाचन आचारसंहिता शुरु भएको छ ।

कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । महिलामा सत्ता गठबन्धनका तर्फबटा माओवादी केन्द्रकी चम्पा कार्की र एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ ।

माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख २७४ गरि ३६७ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतदभार १९ रहेको छ ।

आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जनाको कार्यकाल सकिदैछ ।