नेशनल ट्रेडिङको भवनमा प्रदेश सरकारको अस्पताल, नाम फेर्दै उद्घाटन गर्दै

विराटनगर ५ माघ । तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ०७६ चैत २१ गते विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी कोभिड अस्पताल सञ्चालन गरेको  थियो ।
कोरोनाको प्रकोप तीव्र रुपमा फैलिएको अबस्थामा छुट्टै अस्पतालमा राखेर उपचार गर्ने उद्देश्यले शुरु भएको अस्पतालमा सरकार परिवर्तनसँगै सेवा पनि परिवर्तन हुँदै आएको छ । तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिडको संक्रमण अन्त्यसँगै अस्पताललाई छुट्टै प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा विकास गरेर अघि बढ्ने बताएका थिए । सोही अनुसार अध्ययनका लागि बजेट समेत विनियोजन गरिएकोथियो । सरकारले त्यस अनुसार नीति तथा कार्यक्रम र बजेटमा पनि सोही विषयलाई समेट्यो पनि ।

शेरधन राई नेतृत्वको सरकार पछि बनेको राजेन्द्र राई नेतृत्वको सरकारले कोभिड संक्रमणको जोखिम कायम रहँदा रहँदै संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाउने निर्णय गर्यो । १६० वेड क्षमताको कोभिड अस्पताललाई ०७९ असोज २ गते देखि संक्रामक रोग तथा सघन उपचार केन्द्रमा परिवर्तन गरियो । केन्द्र सञ्चालनको घोषणा गर्दा कोभिडका संक्रमितहरु उपचाररेत थिए । झण्डै डेढ वर्षअघि देखि संक्रामक रोग तथा सघन उपचार सेवा दिँदै आएको अस्पतालमा गत असारमा नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले सघनसँगै जलन अस्पताल बनाउने निर्णय गरे । पुरानो सेवालाई निरन्तरतादिँदै जलन अस्पताल बनाउने निर्णय गरिएको पूर्वमुख्यमन्त्री थापाको भनाई छ । पहिलेदेखि सञ्चालनमा रहेको सेवालाई कायम राख्दै जलन अस्पताल अर्को ब्लकबाट सञ्चालन गर्ने निर्णय गरेपनि थापाको कार्यकाल छाटो अवधिको भएकाले निर्णय कार्यान्वन हुन सकेन ।

संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन गरेको डेढ वर्ष नवित्दै मुख्यमन्त्री केदार कार्कीले हृदयरोग उपचार केन्द्र बनाउने निर्णय गरे । मुख्यमन्त्रीमा नियुक्त भएको एक सय दिन पुगेको अवसरमा सोमबार शैलजा आचार्य हृदय रोग केन्द्र अस्पतालका रुपमा उद्घाटन गरिदै छ ।

कोराना संक्रमितको उपचार गर्ने उद्देश्यले तत्कालिन सरकारले शुरु गरेको अस्पतालको सरकार परिवर्तनसँगै सेवा पनि परिवर्तन हुँदै गएको छ । प्रदेश सरकारको स्पष्ट स्वास्थ्य नीति नहुँदा पनि यो समस्या भएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार प्रदेश सरकार परिवर्तनले स्वास्थ्य नीतिमा स्थायीत्व नभएको बताए । स्वास्थ्य नीतिमा स्थायीत्व नहुँदा सरकार परिवर्तन पिच्छे साविक कोभिड अस्पतालको पनि सेवा परिवर्तन भएको उनको भनाई छ ।

सोमबारदेखि सञ्चालनको तयारी गरिएको अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताउनुभयो ।

अर्बभन्दा बढी मूल्यका उपकरण प्रयोगविहीन

कोभिड नियन्त्रणका लागि दातृ निकाय र जनस्तरको अर्बभन्दा बढीको लगानीमा निर्माण कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका अर्बभन्दा बढी मूल्यका उपकरण प्रयोगविहीन करोडौंका स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् ।

जनस्तर, निजी क्षेत्र, प्रदेश सरकार र दातृ निकायको सहयोगमा १० दिनमा सञ्चालनमा ल्याइएको यो अस्पताल स्थापना र सञ्चालनका लागि त्यसबेला अर्बभन्दा बढी लगानी भएको थियो ।
प्रदेश सरकारको मातहतमा रहेको उपचार केन्द्रलाई कोभिड अस्पताल, संक्रमण रोग तथा सघन उपचार केन्द्र हुँदै हृदयरोग केन्द्रका रुपमा रुपान्तरण गरिएपछि अत्याधुनिक उपकरण प्रयोगविहिन भएको   हो ।