विराटनगर ७ माघ । नेपालमा देखा परेका उपेक्षित उष्णप्रदेशीय रोगहरु नियन्त्रणमा राज्यको प्राथमिकता कम भएको सरोकारवालाहरुले बताएका छन् ।
सरकारले प्रतिबद्धता जनाएपनि प्राथमकितामा पर्न नसक्दा सन् २०२० भित्रमा उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई निवारण गर्न नसकिएको उनीहरुको भनाई छ । उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारबाट अत्यन्तै न्युन बजेट विनियोजन हुने गरेको सरोकारवालाहरुको भनाई छ । कोशी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजना तथा विश्व स्वास्थ्य संगठन, फेयरमेड, एनएलआर, फेक्ट नेपालको सहकार्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन ।
आगामी जनवरी २८ मा मनाईने विश्वकुष्ठरोग दिवस र जनवरी ३० मा मनाईने विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको सन्दर्भमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीले उपेक्षित उष्णप्रदेशीय रोग मध्ये हात्तीपाईले, जुका, कुष्ठरोग र कालाजार सन २०२० भित्र निवारण गर्ने भनिएपनि अझै जनस्वास्थ्य समस्याका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हात्तीपाईले र जुकालाई बहु–औषधिको प्रयोग मार्फत नियन्त्रण गर्न सकिन्छ तर कुष्ठरोग र कालाजालाई उपचार, हेरचाह, पुर्नस्थापना गरेर मात्र नियन्त्रण गर्न सकिन्छ ।’ उपेक्षित उष्णप्रदेशीय रोगहरु अधिकांश पिछडीएको क्षेत्र तथा समुदायमा धेरै देखिनेहुँदा सँधै ओझेलमा परेको जनस्वास्थ्य अधिकृत खत्रीले बताउनुभयो । प्राथमिक स्वास्थ्य सेवासँग उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई एकिकृत गर्न नसक्दापनि समस्या भएको उहाँले बताउनुभयो । फेयरमेडका टिम लिडर डम्बरसिंह गुरुङले उपेक्षित रोगहरुलाई विरामी आफैले उपेक्षा गरेको बताउनुभो । उहाँले रोग नियन्त्रणका लागि लगानी गर्ने निकायले पनि उपेक्षित रोगहरुलाई प्राथमिकता नदिने गरेको बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले उपेक्षित रोगहरु नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्यको कमी भएको बताउनुभयो । उपेक्षित उष्णप्रदेशीय रोगहरु गर्मी ठाउँमा रहेका सिमान्तकृत समुदायमा धेरै असर गरेको देखिएको उहाँले बताउनुभयो । कार्यक्रममा एनएलआरका नन्दलाल बास्तोला, फेक्ट नेपालका कैलाशखाकी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । नेपालमा कुष्ठरोग, हात्तीपाईले, कालाजार, माटोबाट सर्ने जुका, डेंगु र चिकनगुनिया, लुतो, रेविज, सर्पदशं, फित्तेजुका र खस्रे रोगहरु उपेक्षित उष्णप्रदेशीय रोग भित्र पर्दछन् ।