विराटनगर ५ माघ । कोशी प्रदेशमा सरकार परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रमहरु परिवर्तन हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारको नेतृत्व परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रम परिवर्तन भईरहनु राम्रो नभएको उनीहरुको भनाई छ ।
प्रदेश सरकारले छुट्टै स्वास्थ्य नीति नबनाएका कारण पनि समस्या भईरहेको उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले विहीबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य नीति संवाद कार्यक्रममा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख सागर प्रसाँईले सरकार परिवर्तनसँगै अघिल्लो सरकारले गरेको निर्णय परिवर्तन गर्नु ठिक नभएको बताउनुभयो । उहाँले अघिल्लो सरकारले गरेको निर्णय परिवर्तन भईरहने परिपाटीका कारण स्वास्थ्यमा स्थायीत्व नभएको बताउनुभयो । नयाँ बन्ने सरकारले अघिल्लो सरकारको निर्णय परिवर्तनलाई पहिलो प्राथमिकता दिनु राम्रो नभएको उहाँको भनाई छ ।
उहाँले प्रदेशको प्रथम आवधिक योजनाले अघि सारेको नीतिमा पनि धेरै उल्झनहरु रहेको उहाँले बताउनुभयो । नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य र प्रदेश सरकारको स्वास्थ्य योजनामा अन्तर रहेको, राजनीतिक प्रतिबद्धताको कमि, योजना तथा नीति कागजमा मात्र सिमित, प्रदेश सरकारलाइ तोकिएको जिम्मेवारी र बनाएको कार्यनीतिमा अन्तर, नीतिको अनुगमन तथा सुपरिवेक्षणको जिम्मेवारीको कमि र जिम्मेवारी कसलाई हुने स्पष्ट नभएको, वार्षिक नीतिहरुमा परिवर्तन आइरहने, स्वास्थ्य जनशक्ति सम्बन्धि कुनै नीतिहरु नभएको बताउनुभयो ।
जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशका अध्यक्ष तथा जिसस सुनसरीका प्रमुख राजन मेहताले सरकारले दीर्घकालिन सोच सहितका निर्णय नगर्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा तत्कालिन शेरधन राई नेतृत्वको सरकारले अस्पताल विकास समितिको अध्यक्ष जिसस प्रमुखलाई बनाउने निर्णय पनि आफु अनुकुल गरेको उहाँको आरोप छ । मेहताले भन्नुभयो,‘ अघिल्लो कार्यकालमा कोशी प्रदेशका अधिकांश जिल्लाको जिसस प्रमुख एमालेका थिए, त्यही भएर विकास समितिका अध्यक्ष जिसस प्रमुखलाई बनाइयो ।’
एमाले कोशी प्रदेश संसदीय दलका उप नेता राम रानाले स्वास्थ्य क्षेत्रको वेथितिमा राजनीतिक दल संलग्न छन भन्ने आरोप गलत भएको बताउनुभयो । उहाँले गैरराजनीतिक दलले पनि स्वास्थ्य क्षेत्र विगार्न उत्तिकै उद्धत रहेको बताउनुभयो । सुनसरीको धरानका प्रमुख स्वतन्त्र प्रतिनिधि भएपनि स्वास्थ्य क्षेत्र विगार्न उनी पनि उत्तिकै सक्रिय भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ दल मात्रै हैन दलमै आबद्ध नभएकाहरु प्नि उस्तै हुन ।’
सरकार परिवर्तनसँगै अघिल्लो सरकारले गरेका निर्णयहरु परिवर्तन गर्नु ठिक नभएको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाको भनाई छ । आफु मुख्यमन्त्री हुँदा गरेका निर्णय अहिलेको सरकारले परिवर्तन गरेको उहाँले बताउनुभयो । पूर्व मुख्यमन्त्री थापाले भन्नुभयो,‘ प्रदेश सरकारले सञ्चालन गरेको विराटनगरमा रहेको संक्रामक अस्पतालसँगै मैले जलन अस्पताल बनाउने निर्णय गरेको थिएँ । अहिलेको सरकारले संक्रामक र जलन दुवै हटाएर अहिले हृदयरोग उपचार केन्द्र बनाउने निर्णय गर्यो । अहिले उद्घाटनको तयारीमा छ ।’
सरकार परिवर्तनसँगै अघिल्लो सरकारले गरेका निर्णय पुरै उल्टाउने परिपाटी ठिक नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ मैले पुरानोलाई कायम राख्दै नयाँ थपेको थिएँ ।’
पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता थापाले स्वास्थ्य क्षेत्रमा देखिएका कमी कमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । पूर्वमन्त्री जीवन घिमिरेले स्वास्थ्यलाई निःशुल्क र मौलिक हकको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा डा. नवराज सुव्वाले सरकारी अस्पतालको सेवा प्रवाह, समस्या र चुनौती समाधानार्थ राजनीतिक सहकार्य र प्रतिवद्धता, सुमन तिमिसिनाले सरकारी अस्पतालको सेवा प्रभाव र समस्या र सागर प्रसाँइले स्वास्थ्य क्षेत्रको नीतिगत उल्झन, प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य नीति छलफलमा सरकारको बेवास्ता
प्रदेश स्तरिय स्वास्थ्य नीति संवादमा प्रदेश सरकारको नेतृत्वले बेवास्ता गरेको छ । कोशी प्रदेशमा स्वास्थ्यका क्षेत्रमा रहेका सम्पूर्ण प्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रमलाई सरकारले बेवास्ता गरेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहनु भएका मुख्यमन्त्री केदार कार्कीले बेवास्ता गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । प्यानलिष्टमा रहनु भएका मुख्यमन्त्री कार्कीले छोटो भनाई राखेर बाहिरिनु भएको थियो ।
मुख्यमन्त्री कार्कीले क्लव, पुराण जस्ता कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरुलाई उद्घाटन गर्न नबोलाउन आग्रह गर्दै यसले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमबाट बाहिरिएपछि सरोकारवालाहरुले मुख्यमन्त्रीले कार्यक्रमको विषयबस्तुको गांभिर्यतालाई बुझ्न नसकेको बताएका थिए । डा. शंकर अधिकारीले जवाफ दिने जिम्मेवार व्यक्ति कार्यक्रम अवधिभर नवसेकोमा आपत्ती जनाउनुभयो । अन्य सहभागीले पनि मुख्यमन्त्रीले सहभागिहरुको अबमूल्यन गरेको गुनासो गरेका थिए । स्वास्थ्य सचिव डा. सुधा देवकोटा पनि कार्यक्रमको वीचमै बाहिरिनु भएको थियो ।