विराटनगर, ८ वैशाख । प्रदेश नं १ मा जेठको पहिलो सातामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । आगामी जेठ २२ गतेदेखि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि बोर्डले प्रदेश स्तरिय खेलकुद प्रतियोतिाको तयारी गरेको हो ।
बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रदेशले राष्ट्रिय खेलकुदमा २५ खेलमा सहभागिता जनाउने र पाँचौं देखि छैठो स्थान ल्याउन सफल हुने सदस्य सचिव हंशराज वाग्लेले दावी गर्नुभयो ।
१४ वटै जिल्लाको खेलकुद गतिविधि र पूर्वाधार विकास लागि कार्य योजना तयार गर्नुका साथै जिल्लाहरुलाई एक लाख ५० हजारका दरले वजेट निकासा गरिएको उहाँले बताउनु भयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई गम्भिर स्वास्थ्य समस्या आएमा वोर्डले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सदस्य सचिव वाग्लेले अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई यातायातमा सहुलित दिन र विमानस्थलबाट सहज आवतजावतका लागि ‘रेडकार्ड’को व्यवस्या गर्ने जानकारी दिनु भयो ।