विराटनगर २७ पुस । मानव सेवा आश्रम विराटनगरले भोली ‘आमा’ सेमीनार गर्ने भएको छ । आरोहण गुरुकुल विराटनगरमा दिउँसो २ वजेदेखि ४ वजे सम्म सेमीनार गरिने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने आमा, बुवाको महत्व बोध गराउने उद्देश्यले सेमीनार गर्न लागिएको मानव सेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले जानकारी दिनुभयो ।
आगामी २ वर्ष भित्रमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्न देशव्यापी रुपमा मानवता प्रवद्र्धन कार्यक्रम आयोजना भइरहेको आश्रमकका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिम्सीनाले बताउनुभयो । देशभर यो वर्ष ४५ स्थानमा आमा सेमीनार गर्ने योजना रहेको उहाँले बताउनुभयो । तिम्सीनाका अनुसार पर्सा, लमजुङ, हेटौंडा, दाङ, नेपालगञ्ज, बुटवल, सर्लाही, जनकपुरमा सेमीनार गरिसकीएको छ । बेलायत, अष्ट्रेलिया, अमेरिकामा समेत सेमीनार गरिने उहाँले बताउनुभयो ।
सेमीनारमा विभिन्न क्षेत्रका गरि ४ सयको सहभागिता रहने मानव सेवा आश्रम विराटनगरका संयोजक केसीले बताउनुभयो । कार्यक्रममा १४ वर्षमुनीका बालबालिकाको सहभागिता निषेध गरिएको छ । निर्धारित समयमा कार्यक्रम शुरु गरिने र निस्कनु पर्ने व्यक्तिहरुलाई सहभागि नभईदिन आयोजकले आग्रह गरेको छ । सेमीनारमा धुम्रपान, मध्यपानको प्रयोग पूर्ण रुपमा निषेध गरिएको कार्यक्रम संयोजक केसीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कार्यक्रमका सहभागिलाई मोवाईल घरमै राखेर आउन भनिएको छ , मोवाईल लिएर आए स्वीचअफ वा फ्लाईड मूडमा राख्नु पर्ने छ ।’