विराटनगर, ८ वैशाख । आजदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुरु हुदैछ ।
कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिनुभयो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए। उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन ।
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धि तर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका तर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्। परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन ।
बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।