विराटनगर २२ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि कोशी प्रदेशमा मनोनयन देखि निर्वाचन सम्मको तयारीका लागि राजनैतिक दलहरुसंग छलफल गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले शनिबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मनोनयन देखि निर्वाचन सम्मको स्थिति, मनोनयन प्रक्रिया, निर्वाचन विधि र कानुनी प्रक्रिया बारे जानकारी गराइएको थियो । सो कार्यक्रममा बोल्दै मोरङ जिल्लाका न्यायाधिस एवं निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन राजनीतिक दलहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रममा सहायक निर्वाचन अधिकृत हेम बुढाथोकीले निर्वाचन कार्यक्रम, मनोनयन विधि र मतदान स्थलको विवरणबारे जानकारी गराउनु भएको थियो । छलफल कार्यक्रममा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशमा एक जना महिला र एक जना अन्य गरी दुई जना सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९३ जना प्रदेश सांसद र २७४ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख गरि ३६७ जना मतदाता रहने निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सो निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।