विराटनगर १८ पुस । मोरङका ६ वटा वडामा हात्तिपाईले रोगको सर्भे गरिने भएको छ । ६ वटा वडालाई तीनवटा ब्लकमा राखेर सर्भेको तयारी गरिएको मंगलबार आयोजित जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा जानकारी दिईएको हो ।
ब्लक ‘ए’ मा सुन्दरहरैचा–५ र केराबारी–६, ब्लक ‘वी’ मा पथरीशनिश्चरे ६ र रतुवामाई ७, ब्लक ‘सी’मा विराटनगर १२ र सुनबर्षी ९ नं. वडालाई छनौट गरिएको छ । ब्लक ‘ए’ मा मिक्लाजुङ, लेटाङ, केराबारी, सुन्दरहरैचा र बुढीगंगा रहेका छन् । ब्लक ‘वी’ कटहरी, ग्रामथान, बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी र रतुवामाई, ब्लक ‘सी’मा सुनबर्षी, रंगेली, विराटनगर, धनपालथान र जहदा गाउँपालिका रहेका छन् । तीनवटा ब्लकमा गरिने सर्भेका आधारमा सोही स्थानमा मात्र हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान चलाईने भएको छ ।
६ वटा वडाका करिव १५० घरसंख्याका आधारमा (टोल वा गाउँको सीमाना छुट्टीने गरी) सो स्थानलाई विभाजन गर्ने र एउटा छान्ने विधिबाट नमूना लिने तयारी गरिएको छ । छनौट गरिएको संख्यामा २ वा सो भन्दा कम हात्तिपाईले देखिएमा सर्भेलाई पास भएको मानिने र ३ वा सो भन्दा बढीमा हात्तिपाईले देखिएमा सर्भेलाई असफल भएको मानिने बताईएको छ ।
मोरङमा विगत ११ वर्षको तथ्याङ्कलाई हेर्दा हात्तिपाईले निवारण कार्यक्रम प्रभावकारी हुँदै गएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताउनुभयो । हात्तिपाईले निवारणका लागि सन् २००१ म गरिएको बेसलाईन सर्भेमा आम औषधी सेवन अभियानको कभरेज १३ दशमलव ६ रहेको उहाँले बताउनुभयो । सन् २०१२ देखि नियमित रुपमा हरेक बर्ष औषधी खुवाईदै आईएको छ । सन् २०२३ मा औषधीको कभरेज ८० दशलमव ८२ रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ यो वर्षको अभियानबाट हात्तिपाईले निवारणमा हामी पास हुन्छौं ।’ खुल्ला सिमानाका कारण पनि मोरङमा हात्तिपाईले पूर्ण रुपमा निवारणमा समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो रोग एक प्रकारको मसिनो धागो आकारको परजिवीबाट संक्रमण भएपछि लाग्दछ । क्युलेक्स जातको सक्रंमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाइ टोकेर यी परजिवीहरु शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.मेहताले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत संसारभरबाटै हात्तिपाईले रोगलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ संसारका ७२ मध्ये २८ सक्रंमित देशहरुले आम औषधी सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन् । हाल विश्वभर ८५.६ करोड मानिसहरु यस रोगको जोखिममा छन् ।’
मोरङमा हात्तिपाईले रोगलाई शुन्यमा झार्नुपर्ने अवस्था रहेको जिल्ला समन्वय समितिका प्रमुख अजम्वर राईले बताउनुभयो । उहाँले लामो समयदेखि अभियान सञ्चालन गरिदा पनि शुन्यमा पुग्न नसक्नुको कारण खोजी गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले आधारभुत स्वास्थ्यलाई पनि प्राथमिकता दिएर कामगर्न जनप्रतिनिधिहरुसमक्ष आग्रह गर्नुभयो ।