विराटनगर १७ पुस । भारतको हैदराबादमा सम्पन्न १० औ विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियन्सीपमा पदक विजेता दिपा विष्टलाई विराटनगरमा सम्मान गरिएको छ ।
मंगलबार जिल्ला मोरंग स्ट्रेन्थलिफ्टिङ संघद्धारा आयोजित सम्मान कार्यक्रममा मोरंग सुन्दरहरैचा नगरपालिकाकी विष्ट र सुनसरीका कविर भगत प्रधानानंगलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा मोरंग संघका अध्यक्ष नवजित राज प्रधानले भारतमा नेपाली खेलाडीले स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक हासिल गरेर प्रदेशलाई नै गौरान्वित गराएको बताए । पौष २ देखि ५ गतेसम्म आयोजित च्याम्पियन्सीपमा नेपालकी कीर्तिमानी खेलाडी विष्टले ८० किलोतौल समूह माथिको स्पर्धामा स्वर्ण पदक हासिल गरेको उनले जानकारी दिए ।
विष्टले समग्रतर्फ स्ट्रगेस्ट वुमनको उपाधि समेत हालिस गरेको अध्यक्ष प्रधानले जानकारी दिए । त्यसैगरि , सोही च्याम्पियनसीपमा सहभागि सुनसरी स्ट्रेन्थलिफ्टिङ संघका संस्थापक अध्यक्ष कविर भगतले कास्य पदक हासिल गरेकाछन् । सम्मान कार्यक्रमपछि स्वर्णपदक विजेता विष्टले भारतमा आयोजित प्रतियोगितामा पदक हासिल गर्दा उत्साह थपिएको बताइन् । राष्ट्रका लागि आफ्नै लगानी र परिश्रममा देशलाई चिनाउन सम्मानको रुपमा लिएको बताएकी विष्टले सम्बन्धित निकायले समेत खेलकुद र खेलाडीलाई उत्साह थप हुनेगरि संझीदिनुपर्नेमा जोड दिएकी थिइन् ।
भारतमा सम्पन्न च्याम्पिनसीपमा नेपाल, भारत, अमेरिकासंगै विभिन्न १६ राष्ट्रका २ सय २० जना खेलाडीले सहभागिता जनाएका थिए ।