वीपीको मेलमिलाप नीति पार्टीभित्र पनि प्रयोग गरौ : नेता पराजुली

विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस मोरङद्धारा आज विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताउनुभयो । उहाँले कांग्रेसभित्रै पनि गुटगत अभ्यास चरम सीमामा पुगेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताउनुभयो ।
कांग्रेस जिल्लाले गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य पराजुलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले धर्मका नाममा विखण्डन ल्याउने भाषा प्रयोग गरेको , काठमान्डौंमा दुइजना युवा माथी दिनदहाडै भएको गोलीकाण्डमा मन्त्रीको सम्लग्नता देखिन पुग्नु ,राज्यमा शान्ति अमनचयनको आभाष हुन नसक्नुले वर्तमान सरकारका मन्त्रीहरुमा कतै न कतै कमजोरी रहेको उल्लेख गरे । यस्ता कुराहरुको अपजस कांग्रेसले खोप्नु परेको चिन्ता व्यक्त गर्नुभयो । उहाँले सनातन हिन्दु राष्ट्रको एजेण्डा कांग्रेसले वोक्नुपर्ने एजेण्डा आफुले उठाउदै आएको र यस विषयमा आफु निरन्तर लागिरहने वताउनुभयो ।

कांग्रेसका नेता तथा मोरङ ३ का प्रतिनिधिसभा सदस्य सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाउनुभयो । उहाँले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताउनुभयो ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य कविता सरदार ,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता , नेपाली कांग्रेस मोरङका उपाध्यक्ष तथा विराटनगर महानगरका मेयर नागेश कोइराला ,कांग्रेस नेताहरु शिवनारायण सिंह गनगाई,सन्जय भट्टराई, तुलसी विस्वास,मदन संग्रौला, मोदराज घिमिरे ,ललित श्रेष्ठ , निर्मला सुवेदी, दिननाथ आचार्य ,शान्ता रिजाल लगायतको उपस्थिती रहेको थियो ।