राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्नु भएको हो । कार्यालय शुभारम्भ गर्दै निर्वाचन अधिकृत ढुङ्गेलले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सवै सवैपक्षलाई आह्वान गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ वटै राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै बैठक गरि छलफल गरिने उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि शुरु हुने छ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेको सुवेदीले बताउनुभयो ।
माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतदभार १९ रहेको छ । आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जनाको कार्यकाल सकिदैछ ।