गठबन्धनको सहमति विराटनगर काँग्रेसले नमान्ने

विराटनगर, ८ वैशाख । सत्तारुढ गठबन्धनले सिट फाँडफाँटका लागि लिएको निर्णयको नेपाली कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ ।

गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ । आकांक्षीमध्येबाट मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नाम पनि पार्टी केन्द्रमा सिफारिस समेत गरेको छ । मेयरको उम्मेदवारमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मीको नाम सिफारिस गरिसकेको छ । उपमेयरको उम्मेदवार सिफारिस हुनेमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्के हुनुहुन्छ । सिफारिसमा पर्नेमध्ये विराटनगरमा अहिले भीम पराजुली मेयर र इन्दिरा कार्की उपमेयर हुनुहुन्छ । अहिले आएर गठबन्धनको भागबण्डामा उपमेयर पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि विराटनगर कांग्रेसले विरोध गरेको हो ।

पार्टीका विराटनगर सभापति दीपक चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पार्नु भयो ।