विराटनगर १३ पुस । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालनमा ल्याईएको श्रम संसार वेभ पोर्टलको सञ्चालन निर्देशिकाबारे आज विराटनगरमा सरोकारवालाहरुवीच छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ ।
गत बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याईएको सूचना प्रणाली सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयार गरेको श्रम संसार वेभ पोर्टलको सञ्चालन, प्रयोग तथा कार्यन्वयन संवन्धि निर्देशिका २०८० माथि सरोकारवालाहरुवीच छलफल तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागिले वेभ पोर्टलको सञ्चालन निर्देशिका परिमार्जनका लागि सुझाव दिएका छन् । निर्देशिकालाई अन्तिम रुप दिएर छिटो कार्यन्वयनमा ल्याउन उनीहरुको सुझाव छ । उनीहरुले निर्देशिकामा उल्लेख भए बमोजिमको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठन हुने समितिमा सवै सेवा प्रदायक संस्थाहरुको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । उनीहरुले समितिले सेवा प्रदायक तथा सरोकारवालाको प्रतिनिधित्व हुनेगरिको समितिको व्यवस्था गर्न सुझाव दिएका छन् । सरोकारवालाहरुले वेभ पोर्टलको दीगोपनाबारे पनि जिज्ञासा राखेका थिए ।
सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराईले सरोकारवाला व्यक्तिहरुको सुझाव अनुसार निर्देशिका परिमार्जन गरिने बताउनुभयो । उहाँले छलफलमा ल्याईएको निर्देशिका प्रारम्भिक मात्रै भएको बताउनुभयो । सवै सुझावहरुलाई समेटेर अन्तिम रुप दिईने उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले निर्देशिका व्यवहारिक रुपमा सरोकारवाला समक्ष लाभदायी बनाउन खोजिएको बताउनुभयो । प्रदेश सरकारले श्रम संसार वेभ पोर्टल र मोवाइल एप्लिकेशनलाई ग्रहण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सरकारले ग्रहण गर्दा कार्यन्वयन गर्न सहजहुने भएकाले हामीले ग्रहण गरेका हौं ।’ निर्देशिकामा उल्लेख गरिएको समिति गठन सम्वन्धमा नीतिगत रुपमा छलफल गरिने उपसचिव खत्रीको भनाई छ । वेभ पोर्टललाई प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ मन्त्रालयसँग सहकार्य गर्ने संस्थाहरु सर्वेसर्वा हैनन, अस्थायी हुन ।’ सहकार्य गर्ने संस्थालाई कानुनीरुमा भूमिका दिन सकिने भएपनि अग्रभागमा सरकार नै रहने बताउनुभयो ।
कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाको अग्रसरतामा स्टेप परियोजनाबाट तयार गरिएको श्रम संसार वेभ पोर्टल र मोवाइल एप्लिकेशनको गत बुधबार मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गर्नु भएको थियो ।
रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । स्विस कन्ट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले श्रम संसार वेभ पोर्टलको सञ्चालनमा ल्याएको हो ।
तीनवटा स्थानीय तहमा हालसम्म ३ हजार ४ सय बढी संस्था तथा व्यक्तीहरु सूचना प्रणालीमा दर्ता भएका छन् । तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको बताईएको छ ।