विराटनगर १२ पुस । विराटनगरका पूर्व प्रमुख तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विराटनगर हिमालय रोडको सन्र्दभमा देखिएको आन्दोलन सुनियोजित भएको बताउनु भएको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा पूर्व प्रमुख पराजुलीले विराटनगरको सौन्दर्यकरणका लागि आफ्नो कार्यकालमा शुरु गरिएको आयोजना विकास विरोधी केही ब्यक्तिले निर्माण भएको संरचना हटाउने प्रपन्च गरिरहेको आरोप लगाउनुभयो । पराजुलीले राजनीतिक अस्थिरता, खिचातानीको उपजले विकास निर्माणको लक्षित कार्यक्रम समेत प्रभावित हुदै गएको बताउनुभयो । हिमालय रोडलाई ब्यवस्थित बनाउन भएका संरचनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएका उहाँले भन्नुभयो,‘ जुन उद्देश्यले सो सडकमा संरचना बनाइएको हो, त्यो पुरा हुन सकेको छैन । हामीले बनाएर सञ्चालन गराउन नसकेको संरचना फेरि भत्काउने हो भने त्यो पूर्वाग्रही देखिने छ ।
राजनीतिक खिचातानी र वैमनष्यताले विकासमा अवरोध गर्नु हुन्न भन्ने हाम्रो मान्यता हो ।’ महेन्द्र चौकबाट पूर्व ट्राफिक चोकसम्मको सडक क्षेत्र फरक रुपमा तयार पार्ने खाका कोरिहदाँ आर्थिक चलखेल गराउन सोही समयमा केही ब्यक्ति सक्रिय रहेको बताउनु भएका पूर्व प्रमुख पराजुलीले भन्नुभयो,‘ हामीले संरचना तयार गर्नका सुरु गर्दा केही ब्यक्ति आर्थिक चलखेलमा लागेका थिए । सोही सडकमा पर्ने केहीघर धनी म समक्ष समेत आएका हुन् । तर, मैले कुनै वास्ता गरिन र विराटनगरमा एउटा राम्रो बस्न, र बेलुका घम्न सक्ने संरचना तयार गर्न लागि परे ।’
प्रदेश सभा सदस्य समेत रहनुभएका पराजुलीले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विकासका योजना लक्षित समयमा पुरा हुन नसकेको जनाउँदै चिन्ता समेत ब्यक्त गर्नुभयो । उहाँले कटहरी गाँउपालिकामा रेल मार्गमा अवरोध, विराटनगर चक्रपथ, हुलाकी सडक मार्गको ढिलासुस्ती, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, कृषि तथा फलफुल थोक बजार, कोशी अस्पतालको सरचना निर्माणमा ढिलाई लगायतका विषय लामो समयदेखि पुरा हुन नसक्नु नै अस्थिर राजनीतिक र आपसी खिचातानीले भएको बताउनुभयो । उहाँले प्रदेशको संरचनालाई संस्थागत गर्दै अघि बढ्नुपर्ने जोड दिनुभयो ।
प्रदेश सरकारले अघि बढाएको शैलजा आचार्य हृदय रोग उपचार केन्द्र, प्रदेश सञ्चार प्रतिष्ठान, विकास निर्माणमा सबैले सहयोग गर्दै अपनत्व खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।