विराटनगर १० पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेशले ६३ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
पुस ९ र १० गते दुई दिन सम्म चलेको कांग्रेस प्रदेश कार्यसमितिको बैठकले कोशी प्रदेशका ९ जिल्लाबाट सिफारिस भई आएका सवै उम्मेदवारको नाम केन्द्रमा पठाउने निर्णय गरेको प्रदेश समितिका सभापति उद्धव थापाले बताउनुभयो । उहाँका अनुसार पुरुषतर्फ ३८ र महिलातर्फ २५ जनाको सिफारिस गरिएका छ ।
पुरुषतर्फ सिफारिस हुने केन्द्रीय नेताहरुमा कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, उमेशजङ्ग रायमाझी, पवन सारडा, गुरुराज घिमिरे, तारामान गुरुङ्ग, हसन अन्सारी, बालकृष्ण दाहाल, गोपालमानसिंह राजभण्डारी, नारायणबाबु कार्की, महेश जाजू लगायतका छन । यस्तै महिलातर्फ सुजाता कोइराला , डा. डीला संग्रौला , रुक्मणि कोइराला , मिता आचार्य, बाला अधिकारी, इन्दिरा कार्की, टिकादेवी भण्डारी रिजाल लगायत छन । कुल ५९ सदस्य रहेको राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने सहित २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिदैछ । कोशी प्रदेशमा दुई सदस्य पदका लागि निर्वाचन हुने छ । कार्यकाल सकिन लागेकामा कोशी प्रदेशका २ जना छन् । नेपाली कांग्रेसका रमेशजंग राय माझी र माओवादी केन्द्रकी विना पोखरेल रहनु भएको छ । निर्वाचन आयोगका अनुसार कोशीमा एक खुल्ला र एक महिला पदको निर्वाचन हुने छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको मतभार १० हजार १३५ छ । स्थानीय तहका २७४ र प्रदेश सभाका ९३ जना सांसद राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाता हुन । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ ।
कोशी प्रदेशमा १३७ स्थानीय तहका २७४ जना प्रमुख/उपप्रमुख रहेका छन् । १३७ स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् । एमालेका ११२, माओवादी केन्द्रका ३१, एकिकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् ।
स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ मतभार रहेको छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ । यसैगरि ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।